23
अब दाऊदको अन्‍तिम वचनहरू यी नै हुन् - यिशैका छोरा दाऊद, उच्‍च रूपमा आदर गरिएको मानिस, याकूबका परमेश्‍वरले अभिषेक गर्नुभएको व्यक्ति, इस्राएलको सुमधुर भजनकार ।2 “परमप्रभुको आत्मा मद्वारा बोल्नुभयो र उहाँको वचन मेरो जिब्रोमा थियो ।3 इस्राएलका परमेश्‍वर बोल्नुभयो, इस्राएलका चट्टानले मलाई भन्‍नुभयो, ‘जसले मानिसहरूमाथि धार्मिक रूपले शासन गर्छ, जसले परमेश्‍वरको भयमा शासन गर्छ ।4 त्‍यो सूर्य उदाउँदाको बिहानको प्रकाश, बादलबिनाको एक बिहान जस्‍तो हुनेछ, जब पानी परेपछि घामको उज्‍यालो चमकद्वारा पृथ्वीबाट नरम घाँस उम्रन्‍छ ।5 वास्तवमा, के मेरो परिवार परमेश्‍वरको सामु यस्‍तै छैन र ? के उहाँले मसँग हरेक उपायले स्‍थापित र पक्‍का अनन्‍त करार गर्नुभएको छैन र ? के उहाँले मेरो उद्धारको वृद्धि र मेरा सबै इच्‍छा पूरा गर्नुहुन्‍न र ?6 तर व्यर्थकाहरू फालिने काँडा जस्‍तै हुनेछन्, किनभने तिनीहरूलाई कसैको हातले जम्‍मा पार्न सकिँदैन ।7 तिनीहरूलाई छुने मानिसले फलामको सामग्री वा भालाको बिँड प्रयोग गर्नुपर्छ । जहाँ तिनीहरू बस्‍छन् त्‍यहीँ तिनीहरूलाई जलाउनुपर्छ’ ।8 दाऊदका वीर मानिहरूका नाउँ यी नै हुन्ः तहकमोनी योशब-बेश्बेत वीर मानिसहरूका अगुवा थिए । तिनले एकै पटकमा आठ सय मानिसलाई मारे ।9 तिनीपछि अहोही दोदैका छोरा एलाजार थिए । तिनी तीन जना वीर मानिसमध्‍ये एक जना थिए । युद्ध गर्न भेला भएका पलिश्तीहरूलाई इस्राएलीहरूले अपमान गर्दा र इस्राएलीहरू पछि हट्दा दाऊदको साथमा हुने तिनी नै थिए ।10 एलाजार खडा भए र आफ्‍नो हात नथाकेसम्‍म, र तिनको हातले तरवारको बिँड नै नसमात्‍ने गरी नथाकेसम्म पलिश्तीहरूसँग युद्ध लडे । त्‍यस दिन परमप्रभुले ठूलो विजाय दिनुभयो । फौजहरू लाशहरूबाट लुट्नलाई मात्र एलाजारको पछि फर्केर गए ।11 तिनीपछि हरारी आगीका छोरा शम्मा थिए । पलिश्‍तीहरू दाल भएको खेतमा एकसाथ भेला भए र फौज तिनीहरूबाट भागे ।12 तर शम्‍मा खेतको बीचमा उभिए र त्‍यसको प्रतिरक्षा गरे । तिनले पलिश्तीहरूलाई मारे र परमप्रभुले ठूलो विजय दिनुभयो ।13 तीस जनामध्‍येका तीन जना सिपाही कटनीको समयमा तल दाऊदकहाँ अदुल्‍लामको गुफामा गए । पलिश्तीहरूका फौजले रपाईंको बेँसीमा छाउनी हालेका थिए ।14 त्‍यस बेला दाऊद आफ्‍नो किल्‍ला अर्थात् गुफामा थिए, जबकि पलिश्तीहरू बेथलेहेममा स्थापित भएका थिए ।15 दाऊदले पानी तृष्णा गरे र भने, “बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी कसैले ल्याइदिएको भए मात्रै पनि हुन्‍थ्यो नि !16 त्‍यसैले यी तीन जना वीर मानिसहरू पलिश्तीहरूको फौजलाई तोडेर बीचबाट गए र बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी ल्याए । तिनीहरूले पानी लिए र दाऊदकहाँ ल्याए, तर तिनले त्‍यो पिउन इन्कार गरे । बरु, तिनले त्‍यो परमप्रभुमा चढाए ।17 अनि तिनले भने, “हे परमप्रभु, मैले यसो गर्ने कुरा मबाट दूर रहोस् । के मैले ती मानिसहरूका रगत पिउनु जसले आफ्‍ना जीवनलाई खतरामा हालेका छन् ?” त्‍यसैले तिनले त्‍यो पिउन इन्कार गरे । ती तीन जना वीर मानिसले यी कुराहरू गरेका थिए ।18 योआबका भाइ र सरूयाहका छोरा अबीशै यी तीन जनाका कप्‍तान थिए । तिनले एक पटक तीन सय जना मानिससँग लडे र तिनीहरूलाई मारे । तिनलाई प्रायः तीन जना सिपाहीहरूसँगै उल्लेख गरिन्‍छ ।19 के तिनी ती तीन जना भन्‍दा धेरै प्रसिद्ध थिएनन् र ? तिनलाई उनीहरूका कप्‍तान बनाइएको थियो । तापनि तिनको ख्‍याति तीन जना धेरै ख्‍यातिप्राप्‍त सिपाहीका बराबर थिएन ।20 यहोयादाका छोरा कब्सेका छोरा बनायाह थिए । तिनी बलिया मानिस थिए जसले वीरतापूर्ण काम गरे । तिनले मोआबको अरिएलका दुई जना छोरालाई मारे । तिनले हिउँ परिरहेको बेला एउटा खाल्डोमा पसेर एउटा सिंहलाई मारे ।21 त्‍यसपछि तिनले एक जना ठूलो मिश्रीलाई मारे । मिश्रीको हातमा भाला थियो, तर बनायाहले त्‍यससँग लौरोले मात्र युद्ध लडे । तिनले त्‍यो मिश्रीको हातबाट भाला खोसे र त्‍यसको आफ्नै भालाले त्‍यसलाई मारे ।22 यहोयादाका छोरा बनायाहका वीरतापूर्ण कामहरू यी नै थिए, र तिनलाई तीन जना वीर मानिससँगै नाउँ दिइयो ।23 तिनलाई तीस जना सिपाहीलाई भन्‍दा उच्‍च आदर दिइन्‍थ्यो, तर तिनलाई ती तीन जनालाई जत्ति उच्‍च रूपमा बिलकुलै मानिँदैनथ्यो । तापनि दाऊदले यिनलाई आफ्नो अङ्‌गरक्षकको जिम्‍मा दिए ।24 ती तीस जना मानिसहरू निम्‍नानुसार थिएः योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरा एल्हानान,25 हरोदी शम्मा, हरोदी एलीका,26 पल्ती हेलेस, तकोका इक्‍केशका छोरा ईरा,27 अनातोतका अबीएजेर, हूशाती मबून्‍ने,28 अहोही सल्मोन, नतोपाती महरै,29 नतोपाती बनायाहकका छोरा हेलेद, बेन्‍यामीनको गिबाका रीबैका छोरा ईथै ।30 पिरतोनी बनायाह, गाशका खोल्साहरूका हिद्दै,31 अर्बाती अब्बी-अल्बोन, बरहूमी अज्मावेत,32 शाल्बोनी एल्याहबा, यशेनका छोराहरू, हरारी शम्माका छोरा जोनाथन,33 हरारी शरारका छोरा अहीआम,34 माकाती आहसबैका छोरा एलीपेलेत, गिलोनी अहीतोपेलका छोरा एलीआम,35 कर्मेलका हेस्रो, अर्बी पारै,36 सोबाका नातानका छोरा यिगाल, गादको कुलका बानी,37 अम्‍मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्‍ने थिए,38 यित्री ईरा, यित्री गारेब,39 हित्ती उरियाह । जम्‍मा सैँतीस जना थिए ।