22
त्यस दिन परमप्रभुमा दाऊदले यो गीत गाए, जुन दिन परमप्रभुले तिनलाई आफ्ना सबै शत्रुका हातबाट र शाऊलको हातबाट छुटकारा दिनुभयो ।2 तिनले प्रार्थना गरे, “परमप्रभु मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ ।3 परमेश्वर मेरो चट्टान हुनुहुन्छ । म उहाँमा शरण लिन्छु । उहाँ मेरो ढाल, मेरो मुक्तिको सीङ, मेरो किल्ला र शरणस्थान हुनुहुन्छ, जसले मलाई हिंसाबाट बचाउनुहुन्छ ।4 म परमप्रभुमा पुकारा गर्नेछु, जो प्रशंसाको योग्य हुनुहुन्छ, र म आफ्ना शत्रुहरूबाट बचाइनेछु ।5 किनकि मृत्युका छालहरूले मलाई घेरे, विनाशको पानीको बाढीले मलाई व्याकुल बनायो ।6 चिहानका डोरीहरूले मलाई घेरे । मृत्युका पासोहरूले मलाई जालमा पारे ।7 मेरो कष्टमा मैले परमप्रभुलाई पुकारा गरेँ । मैले आफ्नो परमेश्वरमा पुकारा गरेँ । उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्नुभयो र सहायताको निम्ति मेरो पुकारा उहाँको कानमा पुग्यो ।8 त्यसपछि पृथ्वी काम्यो र हल्लियो । स्वर्गका जगहरू कामे र हल्लिए, किनभने परमेश्वर रिसाउनुभएको थियो ।9 उहाँको नाकको प्वालहरूबाट धूँवा माथि गयो र उहाँको मुखबाट आगोको ज्वाला निस्क्यो । यसद्वारा कोइलाहरू सल्किए ।10 उहाँले स्वर्ग खोल्नुभयो र तल आउनुभयो अनि बाक्लो अँध्यारो उहाँको पाउमुनि थियो ।11 उहाँ करूबहरूमाथि सवार हुनुभयो र उड्नुभयो । उहाँलाई हावाको पखेटाहरूमा देखियो ।12 उहाँले आकाशमा भीषण वर्षाको बादललाई बटुलेर अन्धकारलाई आफ्नो वरिपरिको पाल बनाउनुभयो ।13 उहाँको सामु भएका बिजुलीको चमकबाट आगोका भुङ्ग्राहरू खसे ।14 परमप्रभु स्वर्गहरूबाट गर्जनुभयो । सर्वोच्च कराउनुभयो ।15 उहाँले काँडहरू प्रहार गर्नुभयो र आफ्ना शत्रुहरूलाई तितरबितर पार्नुभयो, चट्याङ्हरूले तिनीहरूलाई छरपष्ट पार्नुभयो ।16 अनि समुद्रका प्रवाहहरू देखिए । परमप्रभुको हप्कीमा, उहाँको नाकका प्वालहरूका सासको विष्फोटनमा संसारका जगहरू उदाङ्गो भए ।17 उहाँ माथिबाट तल पुग्नुभयो । उहाँले मलाई समात्नुभयो । उहाँले मलाई उर्लिरहेको पानीबाट तानेर निकाल्नुभयो ।18 मेरो शक्तिशाली शत्रुहरूबाट र मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति धेरै बलिया थिए ।19 मेरो कष्टको दिनमा तिनीहरू मेरो विरुद्धमा लड्न आए, तर परमप्रभु नै मेरो सहारा हुनुभयो ।20 उहाँले मलाई खुल्ला ठाउँमा ल्याउनुभयो । उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग प्रसन्न हुनुभयो ।21 परमप्रभुले मलाई मेरो धार्मिकताको नापअनुसार इनाम दिनुभएको छ । उहाँले मेरो हातको शुद्धताको नापबमोजिम मलाई पुनर्स्थापना गर्नुभएको छ ।22 किनकि परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्वरबाट भड्किएर दुष्टतासाथ काम गरेको छैन ।23 किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् । उहाँका विधिहरूका सम्बन्धमा तीबाट म तर्केको छैन ।24 म उहाँको सामु निर्दोष भएको छु र मैले आफैलाई पापबाट अलग राखेको छु ।25 यसकारण परमप्रभुले मेरो धार्मिकताको नापबमोजिम र उहाँको दृष्टिमा मेरो शुद्धताको सीमासम्म मलाई पुनर्स्थापना गर्नुभएको छ ।26 विश्वासयोग्य हुनेसित, तपाईंले आफूलाई विश्वासयोग्य प्रकट गर्नुहुन्छ । निर्दोष मानिससँग तपाईंले आफूलाई निर्दोष नै प्रकट गर्नुहुन्छ ।27 शुद्धसँग तपाईंले आफूलाई शुद्ध नै प्रकट गर्नुहुन्छ, तर बेइमानसँग तपाईं समझदार बन्नुहुन्छ ।28 कष्टमा परेका मानिसहरूलाई तपाईंले बचाउनुहुन्छ, तर तपाईंका आँखा घमण्डीहरूका विरुद्धमा हुन्छन् र तिनीहरूलाई तपाईंले तल झार्नुहुन्छ ।29 किनभने हे परमप्रभु, तपाईं मेरो बत्ती हुनुहुन्छ । परमप्रभुले मेरो अँध्यारोलाई चम्काउनुहुन्छ ।30 किनकि म तपाईंद्वारा मोर्चाहरूतिर दौडिन सक्छु । मेरो परमेश्वरद्वारा म पर्खाल नाघ्न सक्छु ।31 परमेश्वरको सम्बन्धमा उहाँको मार्ग सिद्ध छ । परमप्रभुको वचन शुद्ध छ । उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ ।32 किनभने परमप्रभुबाहेक को परमेश्वर छ र, अनि हाम्रो परमेश्वरबाहेक को चट्टान छ र ?33 परमेश्वर मेरो शरणस्थान हुनुहुन्छ र उहाँले निर्दोष व्यक्तिलाई आफ्नो मार्गमा डोर्याउनुहुन्छ ।34 उहाँले मेरा गोडाहरूलाई हरिणको जस्तै द्रूत बनाउनुहुन्छ र मलाई उच्च स्थानहरूमा राख्नुहुन्छ ।35 उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालिम दिनुहुन्छ र मेरा बाहुलीहरूले काँसाको धनु झुकाउँछन् ।36 तपाईंले मलाई तपाईंको मुक्तिको ढाल दिनुभएको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ ।37 तपाईंले मेरा गोडामुनिका ठाउँलाई फराकिलो बनाउनुभएको छ, त्यसैले मेरा गोडाहरू चिप्लेका छैनन् ।38 मैले आफ्ना शत्रुहरूलाई खेदेँ र तिनीहरूलाई नाश पारेँ । तिनीहरू नाश नभएसम्म म पछाडि फर्किनँ ।39 मैले तिनीहरूलाई खत्तम पारेँ र तिनीहरूलाई टुक्राटुक्रा पारेँ । तिनीहरू उठ्न सक्दैनन् । तिनीहरू मेरा गोडामुनि ढलेका छन् ।40 तपाईंले युद्धको निम्ति पेटी जस्तै गरी मलाई सामर्थ्य दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा राख्नुभयो ।41 तपाईंले मलाई मेरा शत्रुहरूको पिठिउँ दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले सर्वनाश पारेँ ।42 तिनीहरूले सहायताको निम्ति पुकारा गरे, तर तिनीहरूलाई कसैले पनि बचाएन । तिनीहरूले परमप्रभुमा पुकारे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।43 मैले तिनीहरूलाई मैदानको धूलोझैँ धुजा-धुजा हुने गरी कुटेँ, मैले तिनीहरूलाई बाटोको हिलोझैँ कुल्चमिल्ची बनाएँ ।44 मेरा आफ्नै मानिसहरूका विवादहरूबाट पनि तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जातिहरूका प्रमुखझैँ सुरक्षित राख्नुभएको छ । मैले नचिनेको मानिसहरूले मेरो सेवा गर्छन् ।45 विदेशीहरूलाई मेरो सामु झुक्न बाध्य बनाइयो । तिनीहरूले मेरो कुरा सुन्ने बित्तिकै, तिनीहरूले आज्ञापालन गरे ।46 विदेशीहरू आफ्ना किल्लाहरूबाट थरथर काम्दै आए ।47 परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो मुक्तिको चट्टान परमेश्वर उच्च पारिनुभएको होस् ।48 उहाँ नै परमेश्वर हुनुहुन्छ जसले मेरो बदला लिनुहुन्छ, जसले मानिसहरूलाई मेरो अधीनमा ल्याउनुहुन्छ ।49 मेरो शत्रुहरूबाट उहाँले मलाई स्वतन्त्र पार्नुहुन्छ । वास्तवमा, तपाईंले मलाई मेरो विरुद्ध उठ्नेहरू भन्दा माथि उचाल्नुभयो । तपाईंले मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ ।50 यसकारण, हे परमप्रभु, म तपाईंलाई जातिहरूको माझमा धन्यवाद दिन्छु । म तपाईंको नाउँको प्रशंसा गाउनेछु ।51 परमेश्वरले आफ्नो राजालाई ठूलो विजय दिनुहुन्छ, र उहाँले आफ्नो अभिषिक्त जन, दाऊद र तिनका सन्तानहरूप्रति आफ्नो करारको बफादारीता प्रकट गर्नुहुन्छ ।”