4
बोअज माथि प्रवेशद्धारमा गए र त्‍यहाँ बसे । चाँडै नै बोअजले भनेका नजिकका कुटुम्ब आए । बोअजले तिनलाई भने, “हे मेरा मित्र, यहाँ आउनुहोस् र बस्‍नुहोस् ।” त्‍यो मानिस आए र बसे ।2 अनि बोअजले त्‍यस सहरका दश जना धर्मगुरुहरूलाई लिए र भने, “यहाँ बस्‍नुहोस् ।” त्‍यसैले तिनीहरू बसे ।3 बोअजले नजिकका कुटुम्बलाई भने, “मोआब देशबाट फर्केर आएकी नाओमीले हाम्रो दाज्‍यू एलीमेलेकको जग्गाको टुक्रा बेच्दैछिन् ।4 ‘यहाँ बसिरहेकाहरूको उपस्थितिमा र मेरा मानिसहरूको धर्मगुरुहरूको उपस्थितिमा यसलाई किन्‍नुहोस्’ भनी तपाईंलाई जानकारी दिने मैले विचार गरेँ । यदि तपाईंले यसलाई छुटाउन चाहनुहुन्‍छ भने, छुटाउनुहोस्, ताकि मैले जान्‍न सकूँ, किनभने तपाईं र तपाईंपछि मबाहेक यसलाई छुटाउने कोही छैन ।” अर्को मानिसले भने, “म यसलाई छुटाउँछु ।5 त्‍यसपछि बोअजले भने, “तपाईंले नाओमीबाट जग्गा किनेको दिनमा नै मृतकको उत्तराधिकारको नाउँलाई उठाउनको निम्ति मृत मानिसको विधवा मोआबी रूथलाई पनि लानुपर्छ ।6 अनि नजिकका कुटम्बले भने, “आफ्नो उत्तराधिकारलाई हानि नगरी मैले यो आफ्नो निम्ति छुटाउन सक्दिनँ । तपाईंले नै मेरो छुटकाराको अधिकार लिनुहोस्, किनभने मैले छुटाउन सक्दिनँ ।7 छुट्कारा र मालसामानको सट्टापट्टा सम्बन्धि इस्राएलको पहिलेको समयमा यस्तो चलन थियो । यी सबै कुराहरूको पुष्‍टि गर्न एक जनाले आफ्नो जुत्ता फुकाल्थ्यो र त्‍यो आफ्नो छिमेकीलाई दिन्‍थ्यो; यो नै इस्राएलमा वैधानिक सम्झौता गर्ने शैली थियो ।8 त्‍यसैले नजिकको कुटुम्बले बोअजलाई भने, “यो तपाईं आफैले किन्‍नुहोस्”, र तिनले आफ्नो जुत्ता फुकाले ।9 त्‍यसपछि बोअजले धर्मगुरुहरू र सबै मानिसहरूलाई भने, “मैले एलीमेलेकको, किल्योन र महलोनको सबै थोक आज किनेँ भन्‍ने कुराको साक्षी तपाईंहरू हुनुहुन्‍छ ।10 साथै त्‍यसको उत्तराधिकारमा मृत मानिसको नाउँलाई मैले उठाउन सकूँ भनी महलोनकी पत्‍नी मोआबी महिला रूथलाई मैले मेरी पत्‍नीको रूपमा प्राप्‍त गरेको छु, ताकि त्‍यसको नाउँ आफ्ना दाज्‍यूभाइहरू माझबाट र त्‍यसको ठाउँको प्रवेशद्धारबाट नहराओस् । आज तपाईंहरू साक्षी हुनुहुन्‍छ ।11 प्रवेशद्धारमा भएका सबै मानिसहरू र धर्मगुरुहरूले भने, “हामी साक्षीहरू छौँ । परमप्रभुले तपाईंको घरमा आउने महिलालाई इस्राएलको घराना निर्माण गर्ने दुई जना राहेल र लेआ जस्‍तै तुल्याउनुभएको होस्; र तपाईं एप्रातामा फलिफाप हुनुहोस् र बेथलेहेममा प्रसिद्ध हुनुहोस् ।12 परमप्रभुले तपाईंलाई दिनुहुने यो महिलाद्धारा तपाईंको घर फारेसको घराना जस्‍तै होस्, जसलाई यहूदाको निम्ति तामारले जन्‍माएकी थिइन् ।13 त्‍यसैले बोअजले रूथलाई लगे र तिनी तिनकी पत्‍नी भइन् । तिनले तिनीसँग सहवास गरे र परमप्रभुले तिनलाई गर्भवती हुन दिनुभयो र तिनले एउटा छोरा जन्‍माइन् ।14 महिलाहरूले नाओमीलाई भने, “परमप्रभुको प्रशंसा होस् जसले तपाईंलाई नजिकको कुटुम्बविहीन अर्थात् यो बालकविहीन छोड्नुभएन । त्‍यसको नाउँ इस्राएलमा प्रसिद्ध होस् ।15 त्‍यो तपाईंलाई नयाँ जीवन दिने र र तपाईंको पालनपोषण गर्ने हुन सकोस्, किनकि तपाईंकी बुहारी जसलाई तपाईंले प्रेम गर्नुहुन्‍छ, तिनी सात जना छोराहरू भन्‍दा पनि असल छिन्, तिनले यिनलाई जन्‍म दिएकी छिन् ।16 नाओमीले बालकलाई लिइन्, आफ्‍नो काखमा राखिन् र तिनको हेरचाह गरिन् ।17 छिमेकका महिलाहरूले तिनलाई यसो भने, “नाओमीको एउटा छोरा भयो । तिनहरूले त्‍यसको नाउँ ओबेद राखे । तिनी यिशैको बुबा भए, जो दाऊदको बुबा भए ।18 फारेसका सन्‍तानहरू यिनै हुन्ः फारेस हेस्रोनका बुबा बने,19 हेस्रोन आरामका बुबा बने, आराम अम्मीनादाबको बुबा बने,20 अम्मीनादाब नहशोनका बुबा बने, नहशोन सल्मोनको बुबा बने,21 सल्मोन बोअजका बुबा बने, बोअज ओबेदको बुबा बने,22 ओबेद यिशैका बुबा बने र यिशै दाऊदको बुबा बने ।