18
त्‍यसपछि इस्राएलका मानिसको सारा सभा शीलोमा जम्‍मा भयो । तिनीहरूले त्‍यहाँ भेट हुने पाल खडा गरे र त्‍यो भूमि तिनीहरूको अधीनमा थियो ।2 इस्राएलका मानिसहरूमाझ अझै पनि सात कुलहरू थिए जसलाई तिनीहरूका उत्तराधिकार दिइएको थिएन ।3 यहोशूले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाले तिमीहरूलाई दिनुभएको भू-भागमा जान तिमीहरूले कहिलेसम्म पछि सारिरहन्‍छौ ?4 हरेक कुलको निम्ति तीन-तीन जना मानिस चुन र म तिनीहरूलाई पठाउनेछु । तिनीहरूले गएर भू-भागहरूको सबै कुराको सर्वेक्षण गर्नेछन् । तिनीहरूले यसको विवरण तिनीहरूको उत्तराधिकारको दृष्‍टिकोणबाट तयार पार्नेछन् र त्‍यसपछि तिनीहरू मकहाँ फर्केर आउनेछन् ।5 तिनीहरूले यसलाई सात खण्डमा विभाजन गर्नेछन् । यहूदाको कुल दक्षिणतिर तिनीहरूकै क्षेत्रमा रहने छन् र योसेफको परिवार उत्तरतिर तिनीहरूकै क्षेत्रमा रहनेछन् ।6 तिमीहरूले भूमिलाई सात वटा खण्डमा वर्णन गर्नेछौ र मकहाँ ल्याउनेछौ । म परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने यहाँ चिट्ठा हाल्नेछु ।7 तिमीहरूका माझमा लेवीहरूको कुनै उत्तराधिकार छैन किनभने परमप्रभुको पूजाहारीको काम नै तिनीहरूको उत्तराधिकार हो । गाद, रूबेन र मनश्शेका आधा कुलले यर्दनपारि नै आफ्नो हिस्सा पाइसकेका छन् । यो उत्तराधिकार परमप्रभुका दास मोशाले नै तिनीहरूलाई दिएका हुन् ।8 त्‍यसैले मानिसहरू उठे र गए । भू-भागको विवरण लेख्‍न जाने मानिसहरूलाई यहोशूले यसो भन्‍दै आज्ञा दिए, “भूमिको सबैतिर जाओ, यसको विवरण लेख र मकहाँ आओ । म परमप्रभुको सामु यहाँ शीलोमा तिमीहरूको निम्ति चिट्ठा हाल्नेछु ।9 मानिसहरू उठे र भूमिको सबैतिर गएर हरेक भागमा सहरहरूको सूची बनाएर सातै वटा खण्डमा यसका सहरहरूको मुट्ठामा विवरण लेखे । अनि तिनीहरू शीलोमा यहोशूकहाँ छाउनीमा फर्के ।10 त्‍यसपछि यहोशूले परमप्रभुको सामु शीलोमा तिनीहरूका निम्ति चिट्ठा हाले । यहोशूले इस्राएलका मानिसहरूलाई यहाँ नै बाँडफाँड गरे र हरेकलाई आ-आफ्नो भाग दिइयो ।11 कुल-कुलअनुसार बेन्‍यामीनको कुलको निम्ति भूमिको भाग । तिनीहरूलाई दिइएको क्षेत्र यहूदाका सन्‍तानहरू र योसेफका सन्‍तानहरूको बीचमा अवस्थित थियो ।12 उत्तरतिर तिनीहरूको सिमाना यर्दनमा सुरु भयो । त्‍यो सिमाना यरीहोको उत्तरतिरको पर्वतशृङ्खला हुँदै माथि पश्‍चिमी पहाडी देशतिर लाग्यो । यो बेथ-आवनको मरुभूमिसम्म पुगेको थियो ।13 त्‍यहाँबाट सिमाना लूजको (अर्थात् बेथेल) दिशामा दक्षिणतिर लाग्यो । त्‍यसपछि सिमाना बेथ-होरोनको दक्षिणतिरको पहाड हुँदै अतारोत-अद्दारतिर झर्‍यो ।14 त्‍यसपछि सिमाना अर्कै दिशातिर मोडियोः पश्‍चिमपट्टि यो बेथ-होरोनबाट सामुन्‍नेतिरका पहाडतिर मोडियो । यो यहूदाको कुलको अधीनमा रहेको एउटा सहर किर्यत-बालमा (अर्थात् किर्यत-यारीम) टुङ्‌गियो । यसले पश्‍चिमी सिमाना निर्माण गर्‍यो ।15 दक्षिणतिरको सिमाना किर्यत-यारीमको बाहिरबाट सुरु भयो । यो त्‍यहाँबाट एफ्रोनतिर, नेप्‍तोहको पानीका मुहानहरूतिर निस्‍क्यो ।16 त्‍यसपछि सिमाना पहाडको सिमातिर तल झर्‍यो, जुन बेनहिन्‍नोमको सामुन्‍ने थियो, जुन रपाईंको बेँसीको उत्तरी किनारामा थियो । यो त्‍यसपछि हिन्‍नोमको बेँसीतिर, यबूसीहरूको भीरको दक्षिण र एन-रोगेलतिर तल निरन्‍तर झर्‍यो ।17 यो शेमशतिर गएर उत्तरतिर मोडियो, र त्‍यहाँबाट यो गलीलोततिर निस्‍क्यो, जुन अदुम्‍मीमको उकालोको सामुन्‍ने थियो । त्‍यसपछि यो रूबेनको बोहनको ढुङ्‌गातिर झर्‍यो ।18 यो बेथ-अराबाको काँधतिर उत्तरतिर र अराबातिर तल आयो ।19 सिमाना बेथ-होग्‍लाको उत्तरतिर छिचोल्यो । त्‍यो सिमाना खारा समुद्रको उत्तरी खाडीमा, यर्दनको दक्षिणी किनारामा टुङ्‌गियो । यो दक्षिणतिरको सिमाना थियो ।20 पूर्वतिरको यसको सिमाना यर्दन नै भयो । यो बेन्‍यामीन कुलको उत्तराधिकार थियो, र यो कुल-कुलअनुसार, सिमाना-सिमाना गरेर वरिपरि दिइएको थियो ।21 बेन्‍यामीन कुलको कुल-कुलअनुसारका सहरहरू यी नै थिएः यरीहो, बेथ-होग्ला, एमेक-कसीस,22 बेथ-अराबा, समारैम, बेथेल,23 अब्बीम, पारा, ओप्रा,24 कपर अमोनी, ओप्‍नी, र गेबा । तिनीहरूका सहरहरूसहित त्‍यहाँ बाह्र वटा सहर थिए ।25 त्‍यहाँ गिबोन, रामा, बेरोतका सहरहरू पनि थिए ।26 मिस्पा, कपीरा, मोशा,27 रेकेम, यिर्पल, तरला,28 सेलाह, एलेप, यबूस (यरूशलेम जस्‍तै), गिबा, र किर्यत । तिनीहरूका सहरहरूसहित त्‍यहाँ चौध वटा सहर थिए । यो बेन्‍यामीनको कुलको निम्ति तिनीहरूको उत्तराधिकार थियो ।