10
यरूशलेमका राजा अदोनिसेदेकले यहोशूले ऐलाई कब्जा गरेका र यसलाई (तिनले यरीहो र यसका राजालाई गरेझैँ) पूर्ण रूपमा नष्‍ट गरेका कुरा सुने, अनि गिबोनका मानिसहरूले इस्राएलसँग कसरी शान्‍ति सम्झौता गरे र तिनीहरूका माझ बस्‍छन् भन्‍ने पनि सुने ।2 यरूशलेमका मानिसहरू साह्रै भयभीत भए, किनभने गिबोन राजकीय सहरहरूमध्‍ये एक ठूलो सहर थियो । यो ऐ भन्‍दा ठूलो थियो र यसका सबै मानिस शक्तिशाली योद्धाहरू थिए ।3 त्‍यसैले यरूशलेमका राजा अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनका राजा दबीरलाई एउटा सन्‍देश पठाए,4 “मकहाँ आउनुहोस् र गिबोनलाई आक्रमण गर्न मलाई सहायता गर्नुहोस् किनभने तिनीहरूले यहोशू र इस्राएलका मानिसहरूसँग शान्‍ति सम्झौता गरेका छन् ।5 पाँच एमोरी राजा अर्थात् हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा, उनीहरू र उनीहरूका सबै फौजले गिबोन विरुद्ध मोर्चा बाँधे र उनीहरूले यसलाई आक्रमण गरे ।6 गिबोनका मानिसहरूले यहोशू र गिलगालमा भएका फौजलाई समाचार पठाए । उनीहरूले भने, “चाँडो गर्नुहोस् ! तपाईंका दासहरूबाट आफ्ना हातहरू नखिँच्‍नुहोस् । हामीकहाँ चाँडो गरी आउनुहोस् र हामीलाई बचाउनुहोस् । हामीलाई सहायता गर्नुहोस्, किनभने पहाडी देशहरूमा बस्‍ने सबै एमोरी राजा हामीलाई आक्रमण गर्न भेला भएका छन् ।7 यहोशू, तिनी र तिनीसँग भएका युद्ध गर्ने सबै अनि लड्‍ने सबै मानिस गिलगालबाट गए ।8 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उनीहरूसँग नडरा । मैले उनीहरूलाई तेरो हातमा दिएको छु । उनीहरू कसैले पनि तेरो आक्रमणलाई रोक्‍न सक्‍नेछैनन् ।9 यहोशूले रातभरि यात्रा गरेर उनीहरूमाथि अचानक जाइलागे ।10 परमप्रभुले इस्राएलका सामु शत्रुहरूलाई अन्‍योलमा पार्नुभयो, र इस्राएलले गिबोनमा ठूलो संहारको साथ उनीहरूलाई मारे अनि उनीहरूलाई बेथ-होरोनसम्मै खेदे । तिनीहरूले आजेका र मक्‍केदाको बाटोसम्मै उनीहरूलाई मारे ।11 जब तिनीहरू इस्राएलबाट बेथ-होरोनको डाँडाको ओरालोमा झरे, परमप्रभुले स्वर्गबाट ठूला-ठूला असिनाहरू बर्साउनुभयो र उनीहरू मरे । इस्राएलका मानिसहरूले तरवारले मारेका भन्‍दा असिनाको कारण मरेकाहरू धैरै थिए । त्‍यस दिन परमप्रभुले इस्राएलका मानिसहरूलाई एमोरीहरूमाथि विजय दिनुभयो,12 अनि यहोशू परमप्रभुसँग बोले । यहोशूले इस्राएलको सामु परमप्रभुलाई यसो भने, “ए सूर्य, गिबोनमाथि र ए चन्‍द्र अय्यालोनको बेँसीमा अडिरह ।” जातिले तिनीहरूका शत्रुहरूमाथि बदला नलिएसम्म सूर्य अडियो र चन्‍द्र रोकियो । के यो याशारको पुस्तकमा लेखिएको छैन र ?13 सूर्य आकाशको बीचमा रहिरह्यो; यो झण्डै पूरै दिनभरि नै अस्ताएन ।14 परमप्रभुले मानव-जातिको कुरा सुन्‍नुभयो, यसअगि र यसपछि कहिल्यै पनि यस्तो भएको छैन । किनभने परमप्रभुले इस्राएलको तर्फबाट युद्ध लडिरहनुभएको थियो ।15 यहोशू र तिनीसँग भएका सबै इस्राएली गिलगालको छाउनीमा फर्के ।16 अब पाँच जना राजा उम्केका र आफै मक्‍केदाको गुफामा लुकेका थिए ।17 यहोशूलाई यसो भनियो, “पाँच जना राजा मक्‍केदाको गुफामा लुकेको भेट्टाइए ।18 यहोशूले भने, “गुफाको मुखमा ठूला-ठूला ढुङ्‌गाहरू गुडाएर राख र उनीहरूको सुरक्षाको निम्ति सिपाहीहरू खटाओ ।19 तिमीहरूचाहिँ नबस । तिमीहरूका शत्रुहरूको पिछा गर र पछाडिबाट आक्रमण गर । उनीहरूको सहरमा पस्‍न नदेओ किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूका हातमा दिनुभएको छ ।20 उनीहरू झण्डै पूर्ण रूपमा नष्‍ट नभएसम्म नै यहोशू र इस्राएलका सन्‍तानहरूले उनीहरूलाई ठूलो संहारको साथ संहार गरिसिध्‍याएका थिए; केही बचेकाहरू मात्र उम्केर किल्ला भएको सहरमा पुगे ।21 त्‍यसपछि सबै फौज मक्‍केदाको छाउनीमा यहोशूकहाँ शान्‍तिसँग फर्के । इस्राएलका मानिसहरूका विरुद्ध कसैले एक शब्द पनि बोल्ने आँट गरेन ।22 यहोशूले भने, “गुफाको मुख खोल । गुफाबाट यी राजाहरूलाई लिएर आओ ।23 तिनीहरूले तिनले भनेझैँ गरे । तिनीहरूले यरूशलेमका राजा, हेब्रोनका राजा, यार्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा अर्थात् यी पाँच जना राजालाई गुफाबाट बाहिर ल्याए ।24 जब तिनीहरूले राजाहरूलाई यहोशूकहाँ ल्याए, तिनले इस्राएलका सबै मानिसलाई बोलाए । तिनले तिनीसँग युद्धमा जाने सेनाहरूका सेनापतिहरूलाई भने, “उनीहरूको गर्दनमा तिमीहरूको खुट्टाले टेक ।” त्‍यसैले तिनीहरू आए र उनीहरूका गर्दनमाथि तिनीहरूका खुट्टाले टेके ।25 अनि तिनले तिनीहरूलाई भने, “नडराओ, र निराश नहोओ । बलियो र साहसी होओ । तिमीहरूले लड्न गइरहेका तिमीहरूका शत्रुहरूलाई परमप्रभुले यसै गर्नुहुन्‍छ ।26 अनि यहोशूले आक्रमण गरी राजाहरूलाई मारे । तिनले उनीहरूलाई पाँच वटा रूखमा झुण्ड्‌याए । तिनीहरूले उनीहरूलाई साँझसम्म झुण्ड्‌याए ।27 घाम अस्ताउँदा यहोशूले आज्ञा दिए र तिनीहरूले उनीहरूलाई रूखबाट तल झारे अनि उनीहरू लुकेका गुफाभित्र नै उनीहरूलाई फ्याँकिदिए । तिनीहरूले गुफाको मुखमा ठूला-ठूला ढुङ्‌गाहरू राखे । ती ढुङ्‌गाहरू आजसम्म पनि छन् ।28 यसरी, यहोशूले त्‍यस दिन मक्‍केदा कब्जा गरे र यसका राजासहित त्‍यहाँ भएका सबैलाई तरवारले मारे । तिनले यसमा भएका सबैलाई पूर्ण रूपमा नष्‍ट पारे । तिनले कसैलाई पनि जीवित छोडेनन् । तिनले मक्‍केदाका राजालाई यरीहोका राजालाई झैँ गरे ।29 यहोशू र सारा इस्राएल मक्‍केदाबाट लिब्‍नातिर गए । तिनले लिब्‍ना विरुद्ध लडे ।30 परमप्रभुले यसलाई उनीहरूका राजासहित इस्राएलको हातमा दिनुभयो । यहोशूले यसलाई र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनले यसमा कसैलाई जीवित छाडेनन् । तिनले यसका राजालाई यरीहोका राजालाई झैँ गरे ।31 यहोशू र तिनीसँग भएका सबै इस्राएल लिब्‍नाबाट लाकीशतिर अगि बढे । तिनले यसको नजिकै छाउनी हाले र यस विरुद्ध लडे ।32 परमप्रभुले लाकीशलाई इस्राएलको हातमा दिनुभयो । यहोशूले यसलाई दोस्रो दिनमा कब्जा गरे र तिनले लिब्‍नालाई गरे जस्‍तै यसलाई र यसमा भएका सबैलाई तरवारले प्रहार गरे ।33 त्‍यसपछि गेजेरका राजा होराम लाकीशलाई सहायता गर्न आए । यहोशूले उनलाई र उनीसँग भएका फौजलाई एक जना पनि जीवित नराखी आक्रमण गरे ।34 त्‍यसपछि यहोशू र सारा इस्राएल लाकीशबाट एग्लोनतिर अगि बढे । तिनीहरूले त्‍यसको नजिकै छाउनी हाले र त्‍यस विरुद्ध युद्ध गरे,35 र त्‍यसै दिन यसलाई कब्जा गरे । तिनीहरूले यसलाई तरवारले प्रहार गरे र यहोशूले लाकीशलाई गरे झैँ यसमा भएका सबैलाई पूर्ण रूपमा नष्‍ट पारे ।36 त्‍यसपछि यहोशू र सारा इस्राएल एग्लोनबाट हेब्रोनतिर अगि बढे । तिनीहरूले यस विरुद्ध युद्ध गरे ।37 तिनीहरूले यसलाई, यसका राजा, यसका गाउँहरू र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनीहरूले यसमा कसैलाई जीवित छाडेनन् । तिनीहरूले एग्‍लोनलाई जे गरेका थिए, तिनीहरूले यसलाई र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्‍ट पारे ।38 त्‍यसपछि यहोशू र तिनीसँग भएका सबै फौज फर्के र तिनीहरू दबीरतिर लागे र यस विरुद्ध युद्ध गरे ।39 तिनीहरूले यसलाई, यसका राजा र यस नजिकका सबै गाउँलाई कब्जा गरे । तिनीहरूले उनीहरूलाई तरवारले प्रहार गरे र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्‍ट पारे । तिनीहरूले कसैलाई पनि जीवित छाडेनन् । तिनीहरूले लिब्‍नालाई र यसका राजालाई र हेब्रोनलाई गरेझैँ दबीरलाई पनि गरे ।40 यहोशूले पहाडी देश, नेगेव, समथर भूमि र पहाडहरूका सबै भूमिमाथि विजय हासिल गरे । उनीहरूका कुनै पनि राजा जीवित रहेनन् । परमप्रभु इस्राएलका परमेश्‍वरले आज्ञा गर्नुभए जस्‍तै तिनले सबै थोकलाई पूर्ण रूपमा नष्‍ट पारे ।41 यहोशूले कादेश-बर्नेदेखि गाजासम्म र गोशेनदेखि गिबोनसम्म सब देशलाई प्रहार गरे ।42 यहोशूले यी सबै राजा र उनीहरूका भूमिलाई एकै पटकमा कब्जा गरे, किनभने परमप्रभु इस्राएलका परमश्‍वर इस्राएलको पक्षमा युद्ध गर्नुभयो ।43 त्‍यसपछि यहोशू र तिनीसँग भएका सबै इस्राएल गिलगालको छाउनीमा फर्के ।