35
परमप्रभु यरीहोमा यर्दन नजिकको मोआबको मैदानमा मोशासँग बोल्नुभयो,2 “इस्राएलका मानिसहरूलाई तिनीहरूका आ-आफ्नो भूमिको हिस्साबाट लेवीहरूलाई केही दिन आज्ञा दे । तिनीहरूले उनीहरूलाई बस्‍नको निम्ति सहरहरू र त्‍यसको वरिपरि खर्क दिनुपर्छ ।3 लेवीहरूले बस्‍नलाई यी सहरहरू पाउनेछन् । तिनीहरूका गाईवस्तुहरू, भेडा-बाख्राहरू र तिनीहरूका सबै जनावरका निम्ति खर्क हुनेछ ।4 तिमीहरूले लेवीहरूलाई दिने सहर वरिपरिका खर्कहरू सहरका पर्खालहरूदेखि बाहिर वरिपरि सबैतिर एक-एक हजार हातसम्म फैलिएको हुनेछ ।5 तिमीहरूले सहरको बाहिरबाट पूर्वपट्टि दुई हजार हात, दक्षिणपट्टि दुई हजार हात, पश्‍चिमपट्टि दुई हजार हात र उत्तरपट्टि दुई हजार हात नाप्‍नुपर्छ । यो तिनीहरूका निम्ति खर्कहरू हुनेछ । सहरचाहिँ बीचमा हुनेछ ।6 तिमीहरूले लेवीहरूलाई दिने सहरहरूमध्‍ये छ वटाले शरण-नगरहरूको काम गर्नुपर्छ । तिमीहरूले दिएका यी ठाउँहरूले कुनै मानिसलाई मार्ने व्यक्ति भाग्‍न सक्‍ने ठाउँ हुनुपर्छ । बयालीस वटा सहर पनि दिनू ।7 तिमीहरूले लेवीहरूलाई दिने सहरहरू जम्‍मा अठचालीस वटा हुनेछ । तिमीहरूले तिनीहरूलाई तिनीहरूका खर्कहरूसहित दिनुपर्छ ।8 इस्राएलका मानिसहरूको ठूलो कुलसँग धैरै भूमि हुने भएकोले धेरै सहरहरू दिनुपर्छ । साना कुलहरूले कम सहरहरू दिनुपर्छ । हरेक कुलले आफूले प्राप्‍त गरेको हिस्साअनुसार लेवीहरूको निम्ति दिनुपर्छ ।9 त्‍यसपछि परमप्रभु मोशासँग बोल्नुभयो,10 “इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, ‘जब तिमीहरू यर्दन तरेर कनानको भूमिमा प्रवेश गर्छौ,11 तिमीहरूले तिमीहरूको निम्ति शरण-नगरको काम गर्ने सहरहरू चुन्‍नुपर्छ, जसमा कसैलाई अजानमा मारेको व्यक्ति त्‍यो ठाउँमा भागेर जान सक्छ ।12 यी सहरहरू बदला लिने व्यक्तिबाट बाँच्‍ने तिमीहरूको शरण-नगर हुनुपर्छ, ताकि दोष लगाइएको व्यक्ति समुदायको सामु न्‍यायको लागि खडा हुनअगि नमारियोस् ।13 तिमीहरूले छ वटा सहरलाई शरण-नगरको रूपमा छान्‍नुपर्छ ।14 तिमीहरूले यर्दनपारि तीन वटा सहर र कनानको भूमिमा तीन वटा सहर दिनुपर्छ । ती शरण-नगर हुनेछन् ।15 यी छ वटा सहरले इस्राएलका मानिसहरूका निम्ति, परदेशीहरूका निम्ति र तिमीहरूमाझ बसोबास गर्ने जो कोहीको निम्ति एउटा शरणको काम गर्नेछ, जसमा कसैलाई अजानमा मार्ने व्यक्ति भागेर जान सक्छ ।16 तर यदि दोष लगाइएको मानिसले पीडितलाई फलामको हतियारले प्रहार गरेको छ भने, र यदि त्‍यसले आक्रमण गरेको व्यक्ति मर्‍यो भने, दोष लगाइएको व्यक्ति हत्‍यारा नै हो । त्‍यसलाई मार्नुपर्छ ।17 यदि दोष लगाइएको मानिसले कसैलाई आफ्नो हातमा भएको ढुङ्‌गाले कसैलाई मर्ने गरी प्रहार गरेको छ भने, र यदि त्‍यो व्यक्ति मर्‍यो भने, त्‍यो दोष लगाइएको व्यक्ति हत्‍यारा नै हो । त्‍यसलाई मार्नुपर्छ ।18 यदि दोष लगाइएको व्यक्तिले कसैलाई काठको हतियारले प्रहार गरेको छ भने, र यदि त्‍यो व्यक्ति मर्‍यो भने, दोष लगाइएको व्यक्ति हत्‍यारा नै हो । त्‍यसलाई मार्नुपर्छ ।19 रगतको बदला लिने व्यक्तिले हत्‍यारालाई मार्न सक्छ । त्‍यसले त्‍यसलाई भेट्दा, रगतको बदला लिने व्यक्तिले त्‍यसलाई मार्नुपर्छ ।20 यदि त्‍यसले ढुकेर बसी कसैलाई प्रहार गर्छ वा घृणा गरेर केही कुराले आक्रमण गर्छ भने र आक्रमण गरिएको व्यक्ति मर्छ भने,21 वा यदि त्‍यसले घृणा गरेको व्यक्तिलाई आफ्नै हातले प्रहार गर्छ अनि त्‍यो आक्रमणमा परेको व्यक्ति मर्छ भने, त्‍यसलाई प्रहार गरेको दोष लगाइएको व्यक्तिलाई मार्नुपर्छ । त्‍यो हत्‍यारा हो । रगतको बदला लिने व्यक्तिले त्‍यसलाई भेट्दा मार्न सक्छ ।22 तर यदि दोष लगाइएको व्यक्तिले पूर्वघृणाविना अचानक कुनै कुरा फ्याँक्दा ढुकेर नबसी नै आक्रमणमा परेको व्यक्तिलाई लाग्यो भने,23 वा यदि त्‍यसले आक्रमणमा परेका व्यक्तिलाई नदेखी ढुङ्‌गा फ्याँक्दा लाग्छ र मर्छ, अनि आक्रमणमा परेको व्यक्ति दोष लगाइएको व्यक्तिको शत्रु होइन भने; त्‍यसले त्‍यसलाई चोट पुर्‍याउन खोजिरहेको थिएन । तर आक्रमणमा परेको व्यक्ति मर्छ भने यसो गर्नुपर्छ ।24 त्‍यस अवस्थामा समुदायले दोष लगाइएको व्यक्ति र रगतको बदला लिनेबिच यी नियमहरूको आधारमा न्‍याय गर्नुपर्छ ।25 समुदायले दोष लगाइएको व्यक्तिलाई रगतको बदला लिने व्यक्तिको शक्तिबाट छुटकारा दिनुपर्छ । समुदायले त्‍यो दोष लगाइएको व्यक्ति पहिले भागेर गएको शरण-नगरमा नै त्‍यसलाई फर्काउनुपर्छ । त्‍यो त्‍यस बेलाको प्रधान पूजाहारीको मृत्‍यु नभएसम्म त्‍यहीँ नै बस्‍नुपर्छ, जसलाई पवित्र तेलले अभिषेक गरिएको थियो ।26 तर यदि दोष लगाइएको व्यक्ति कुनै बखत त्‍यो भागेर गएको सहरको सिमानाबाहिर जान्‍छ,27 र यदि रगतको बदला लिनेले त्‍यसलाई शरण-नगरको सिमानाबाहिर फेला पार्छ, र यदि त्‍यसले त्‍यो दोष लगाइएको व्यक्तिलाई मार्छ भने, रगतको बदला लिने व्यक्ति हत्‍याको दोषी हुनेछैन ।28 किनभने त्‍यो दोष लागेको व्यक्ति प्रधान पूजाहारीको मृत्‍यु नभएसम्म त्‍यसको शरण-नगरभित्र नै बस्‍नु पर्थ्यो । प्रधान पूजाहारीको मृत्‍युपछि त्‍यो दोष लागेको व्यक्ति आफ्नो सम्पत्ति भएको ठाउँमा फर्केर जान सक्छ ।29 यी नियमहरू तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको विधिविधान हुनुपर्छ ।30 कुनै मानिसलाई मार्ने हत्‍यारालाई साक्षीहरूले दिएको प्रमाणअनुसार मार्नुपर्छ । तर एक जना मात्र साक्षीको प्रमाणमा कुनै पनि व्यक्तिलाई मार्नु हुदैन ।31 साथै हत्‍याराको दोषीको निम्ति तिमीहरूले कुनै किसिको छुटकाराको मूल्य स्वीकार गर्नु हुँदैन । त्‍यसलाई अवश्य नै मार्नुपर्छ ।32 शरण-नगरमा भागेर गएको व्यक्तिको निम्ति तिमीहरूले छुटकाराको मूल्य स्वीकार गर्नु हुँदैन । यसरी प्रधान पूजाहारीको मृत्‍यु नभएसम्म तिमीहरूले त्‍यसलाई आफ्नो जायदाद भएको ठाउँमा बसोबास गर्न दिनुहुँदैन ।33 तिमीहरू बसोबास गरेको भूमिलाई यसरी दूषित नपार, किनभने हत्‍याराबाटको रगतले भूमिलाई दूषित पार्छ । भूमिमा रगत बगाएपछि यसको निम्ति रगत बगाउने व्यक्तिको रगतले बाहेक कुनै किसिमको प्रायश्‍चित गर्न सकिँदैन ।34 त्‍यसैले तिमीहरू बसोबास गर्ने भूमिलाई तिमीहरूले अशुद्ध पार्नुहुँदैन, किनभने म यसमा बास गर्छु । म परमप्रभु इस्राएलका मानिसहरूमाझ बास गर्छु ।”