13
त्‍यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,2 “केही मानिसहरूलाई कनानको भूमिको जाँच गर्न पठा, जुन मैले इस्राएलका मानिसहरूलाई दिएको छु । तिनीहरूका पुर्खाका हरेक कुलबाट एक-एक जना पठा । ती हरेक तिनीहरूका अगुवा हुनुपर्छ ।3 मोशाले तिनीहरूलाई पारानको मरुभूमिबाट पठाए, ताकि तिनीहरूले परमप्रभुको आज्ञापालन गरून् । तिनीहरू सबै इस्राएलका मानिसहरूका अगुवाहरू थिए ।4 तिनीहरूका नाउँ यी नै हुन्ः रूबेनको कुलबाट जक्‍कूरका छोरा शम्मूअ;5 शिमियोनका कुलबाट होरीका छोरा शाफात;6 यहूदाको कुलबाट यपुन्‍नेका छोरा कालेब;7 इस्साखारको कुलबाट योसेफका छोरा यिगाल;8 एफ्राइमको कुलबाट, नूनका छोरा होशिया;9 बेन्‍यामीनको कुलबाट, रफूका छोरा पलती;10 जबूलूनको कुलबाट सोदीका छोरा गद्दीएल;11 योसेफको कुलबाट (अर्थात् मनेश्‍शेको कुलबाट) सूसीका छोरा गेद्दी;12 दानको कुलबाट गमल्लीका छोरा अम्मीएल;13 आशेरको कुलबाट मिखाएलका छोरा सतूर;14 नप्‍तालीको कुलबाट वोफ्सीका छोरा नहबी;15 गादको कुलबाट माकीका छोरा गूएल ।16 मोशाले भूमिको जाँच गर्न पठाएका मानिसहरूका नाउँ यी नै थिए । मोशाले नूनका छोरा होशियालाई यहोशू नाउँ राखे ।17 मोशाले तिनीहरूलाई कनानको भूमि जाँचबुझ गर्न पठाए । तिनले तिनीहरूलाई भने, “नेगेवबाट प्रवेश गर र पहाडी मुलुकतिर जाओ ।18 यो कस्तो छ भनी भूमिको जाँचबुझ गर ।19 त्‍यहाँ बस्‍ने मानिसहरूलाई हेर, तिनीहरू बलिया वा कमजोर छन् वा तिनीहरू धेरै छन् वा थोरै छन् ।20 तिनीहरू बसोबास गरेका भूमि कस्तो छ, हेर । यो असल वा खराब छ ? सहरहरू कस्ता छन् ? तिनीहरू छाउनी वा किल्ला भएको सहरहरूमा छन् ? भूमि कस्तो छ । अन्‍न उमार्न असल छ वा छैन, रूखहरू छन् वा छैनन् । साहसी होओ र त्‍यो भूमिको उत्पादनको नमुना लिएर आओ ।” त्‍यस बेला पहिलो दाख पाक्‍ने समय थियो ।21 यसैले ती मानिसहरू गए र जीनको मरुभूमिदेखि लेबो-हमात नजिकको रेहोबसम्मको भूमिको जाँचबुझ गरे ।22 तिनीहरू नेगेवबाट उक्लेर हेब्रोनमा आइपुगे । त्‍यहाँ अनाकका सन्‍तानहरू अहीमान, शेशै र तल्मै थिए । हेब्रोन मिश्रको सोअन भन्‍दा सात वर्ष पहिले निर्माण गरिएको थियो ।23 जब तिनीहरू एश्कोलको बेँसीमा पुगे, तिनीहरूले दाखको झुप्‍पासहितको हाँगा काटे । तिनीहरूले यसलाई घोचामा राखेर दुई जनाले बोके । तिनीहरूले अनार र नेभारा पनि ल्याए ।24 इस्राएलका मानिसहरूले त्‍यहाँ दाखको झुप्‍पा काटेकाले त्‍यस ठाउँलाई एश्कोलको बेँसी नाउँ राखियो ।25 चालीस दिनपछि तिनीहरू भूमिको जाँचबुझ गरेर फर्के ।26 तिनीहरू मोशा, हारून र इस्राएलका सारा समुदायकहाँ पारानको मरुभूमिमा भएको कादेशमा फर्केर आए । तिनीहरूले तिनीहरूलाई र सारा समुदायलाई खबर ल्याए र भूमिको उत्पादन तिनीहरूलाई देखाए ।27 तिनीहरूले मोशालाई भने, “तपाईंले पठाउनुभएको मुलुकमा हामी पुग्यौँ । यसमा साँच्‍चै दुध र मह बग्दोरहेछ । यसका केही उत्पादनहरू यहाँ छन् ।28 तथापि, त्‍यहाँ बसोबास गर्ने मानिसहरू बलिया छन् । सहरमा किल्ला हालिएका छन् र ती धेरै ठूला छन् । हामीले अनाकका सन्‍तानहरूलाई पनि देख्यौँ ।29 नेगेवमा अमालेकीहरू बसोसबास गर्छन् । हित्ती, यबूसी, र एमोरी पहाडी मुलुकमा बस्छन् । कनानीहरू समुद्र किनारा र यर्दन नदीको तीरमा बस्छन् ।30 अनि यहोशूले मोशाको सामु मानिसहरूलाई चुपचाप बनाए र भने, “जाऔँ र भूमिलाई कब्जा गरौँ, किनभने हामीले यसलाई निश्‍चय पनि जित्‍नेछौँ ।31 तर तिनीसँग गएका अरू मानिसहरूले भने, “हामीले तिनीहरूलाई आक्रमण गर्न सक्दैनौँ, किनभने तिनीहरू हामी भन्‍दा बलिया छन् ।32 यसैले तिनीहरूले जाँचबुझ गरेका मुलुकबारे इस्राएलका मानिसहरू माझ निरुत्साहित पार्ने खबर फिँजाए । तिनीहरूले भने, “हामीले हेरेका मुलकले त आफ्नै बासिन्‍दाहरूलाई निल्दोरहेछ ।33 हामीले त्‍यहाँ देखेका सबै मानिस अग्ला कदका छन् । हामीले त्‍यहाँ दैत्‍यहरू अर्थात् अनाकका सन्‍तानहरू देख्यौँ जो दैत्‍यहरूबाट आएका थिए । तिनीहरूसँग तुलना गर्दा हामी हाम्रो नजरमा ? फट्‌याङ्‌ग्रा जस्ता थियौँ ।”