9
त्‍यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो र भन्‍नुभयो, “फल्‍दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ ।2 जमिनमा चलहल गर्ने हरेक जीवित प्राणी, आकाशका हरेक पक्षी, जमिनमा घस्रने हरेक जन्‍तु र समुद्रका सबै माछामाथि तिमीहरूको डर र त्रास रहनेछ । ती तिमीहरूका हातमा सुम्पिएका छन् ।3 हरेक चलहल गर्ने प्राणी तिमीहरूका निम्ति भोजन हुनेछन् । मैले तिमीहरूलाई हरिया वनस्पतिहरू दिए जस्‍तै अब म तिमीहरूलाई सबै थोक दिन्‍छु ।4 तर तिमीहरूले मासु त्‍यसको प्राण दिने रगतसमेत नखाओ ।5 तर तिमीहरूको प्राण दिने रगतको साटो म लेखा लिनेछु । हरेक पशुबाट म प्राणको साटो लिनेछु । आफ्नो भाइको हत्‍या गर्ने हरेक मानिसको हातबाट म त्‍यस मानिसको प्राणको साटो लिनेछु ।6 जसले मानिसको रगत बगाउँछ मानिसद्वारा नै त्‍यसको रगत बगाइनेछ, किनकि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो ।7 तिमीहरूचाहिँ पृथ्वीमा फल्दै-फुल्दै, वृद्धि हुँदै, फैलँदै जाओ ।8 त्‍यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई यसो भन्‍नुभयो,9 “मेरो कुरा सुन ! तिमीहरू र तिमीहरूपछि आउने तिमीहरूका सन्‍तानहरू,10 तिमीहरूसँगै भएका हरेक जीवित प्राणी अर्थात् पक्षीहरू, पालिने पशुहरू र जहाजबाट बाहिर आउनेदेखि पृथ्वीमा भएका हरेक जीवित प्राणीसित म मेरो करार स्थापित गर्दै छु ।11 जलप्रलयको पानीद्वारा फेरि सबै प्राणी नष्‍ट गरिनेछैनन् भनी म मेरो करार तिमीहरूसित स्थापित गर्दछु । पृथ्वीलाई सर्वनाश गर्ने जलप्रलय फेरि कहिल्यै आउनेछैन ।12 परमेश्‍वरले भन्‍नुभयो, “पुस्तौँको निम्ति मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीसित मैले जुन करार बाँध्दै छु, त्‍यसको चिन्ह यही हुन्‍छ13 कि मैले बादलमा इन्‍द्रेणी राखेको छु, र यो मेरो र पृथ्वीको बीचमा करारको चिन्ह हुनेछ ।14 मैले पृथ्वीमाथि बादल फिँजाउँदा जब इन्‍द्रेणी देखा पर्छ15 तब म मेरो करारलाई सम्झनेछु जुन करार मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीको बीचमा बाँधिएको छ । जलप्रलयले फेरि कहिल्यै सबै प्राणीलाई सर्वनाश गर्नेछैन ।16 परमेश्‍वर र पृथ्वीमा रहेका सबै जीवित प्राणीबिच बाँधिएको नित्‍य रहिरहने करारको सम्झना गर्नलाई म बादलमा देखा पर्ने इन्‍द्रेणीलाई हेर्नेछु ।17 तब परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मेरो र पृथ्वीमा भएका सबै जीवित प्राणीको बीचमा मैले स्थापित गरेको करारको चिन्ह यही हो ।18 जहाजबाट बाहिर निस्केर आएका नोआका छोराहरू शेम, हाम र येपेत थिए । हाम कनानका पिता थिए ।19 यी तीन जना नोआका छोराहरू थिए, र यिनीहरूबाट नै समस्त पृथ्वी भरियो ।20 नोआ किसान हुन लागे, र तिनले दाखबारी लगाए ।21 दाखमद्य पिएर तिनी मात्तिए । तिनी आफ्नो पालमा नाङ्‌गै पल्टिरहेका थिए ।22 तब कनानका पिता हामले आफ्ना पिताको नाङ्‌गोपन देखे र बाहिर आएर दुवै दाजुलाई बताइदिए ।23 त्‍यसैले, शेम र येपेतले एउटा लबेदा लिएर त्‍यसलाई काँधमा हाले अनि पछिल्तिर सर्दै गएर तिनीहरूका पिताको नाङ्‌गोपन ढाकिदिए । तिनीहरूको अनुहार अर्कोपट्टि फर्केकाले तिनीहरूले आफ्ना पिताको नाङ्‌गोपन देखेनन् ।24 नोआ आफ्नो मद्यको लतबाट उठेपछि तिनका कान्‍छा छोराले तिनलाई के गरेका थिए भनी तिनलाई थाहा भयो ।25 त्‍यसैले तिनले भने, “श्रापित होस् कनान । त्‍यो आफ्ना दाजुहरूका कमाराहरूका पनि कमारा होस् ।26 तिनले यसो पनि भने, “शेमका परमेश्‍वर यहोवे धन्‍यका होऊन्, र कनान त्‍यसको कमारो होस् ।27 परमेश्‍वरले येपेतको क्षेत्र वृद्धि गर्नुभएको होस् र त्‍यसले शेमका पालहरूमा बास गरून् । कनान त्‍यसका कमारा होस् ।28 जलप्रलयपछि नोआ तीन सय पचास वर्ष बाँचे ।29 नोआको जम्मा उमेर नौ सय पचास वर्ष भयो, अनि तिनी मरे ।