17
सात वटा कचौरा लिएका सात जना स्वर्गदूतमध्‍ये एक जनाले मकहाँ आएर भने, “आऊ, म तिमीलाई धेरै पानीमाथि बसेकी त्‍यस महावेश्यालाई दिएको दण्डलाई देखाउनेछु ।
2 त्‍यससँग पृथ्वीका राजाहरूले यौन अनैतिकता गरेका छन् । पृथ्वीका बासिन्‍दाहरू त्‍यसको यौन अनैतिकताको मद्यले मातेका छन् ।”
3 त्‍यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड-स्थानतिर लगे, र निन्‍दा गर्ने पुरै नाउँहरूले भरिएकी रातो रङको पशुमाथि बसेकी एउटी स्‍त्रीलाई मैले देखेँ । त्‍यस जनावरको सात वटा टाउका र दस वटा सीङ थिए ।
4 त्‍यस स्‍त्रीले बैजनी र रातो चहकिलो पोशाक लगाएकी र सुन, बहुमूल्य मणि र मोतीहरूले सिँगारिएकी थिई । घिनलाग्दा कुराहरू र यौन अनैतिकताका अशुद्ध थोकहरूले भरिएको एउटा सुनको कचौरा त्‍यसले हातमा समातिरहेकी थिई ।
5 एउटा रहस्यको अर्थ भएको नाउँ त्‍यसको निधारमा लेखिएको थियोः “पृथ्वीमा भएका घिनलाग्दा कुराहरू र वेश्याहरूकी आमा महान् बेबिलोन ।”
6 मैले त्‍यस स्‍त्रीले विश्‍वासीहरूको रगत र येशूको निम्ति सहिद भएकाहरूको रगत पिएर मातेकी देखेँ । जब मैले त्‍यसलाई देखेँ, तब म सार्‍है नै चकित भएँ ।
7 तर स्वर्गदूतले मलाई भने, “तिमी किन चकित हुन्‍छौँ ? म तिमीलाई त्‍यो स्‍त्री र त्‍यसलाई बोक्‍ने सात वटा टाउका र दस वटा सीङ भएको पशुको रहस्यको अर्थ बताउनेछु ।
8 तिमीले देखेको त्‍यो पशु अस्तित्वमा थियो र अहिले अस्तित्वमा छैन, तर अगाध खाँदबाट माथि निस्कन लागेको छ । तब यो विनाशतिर जानेछ । पृथ्वीमा जिउनेहरू जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्‍यो पशुलाई देखेर चकित पर्नेछन्, किनभने त्‍यो अस्तित्वमा थियो, अहिले अस्तित्वमा छैन, तर आउनै लागेको छ ।
9 यसले बुद्धि भएको मनलाई आव्हान गर्छ । सात वटा टाउका सात वटा डाँडा हुन् जसमाथि त्‍यो स्‍त्री बसेकी छे ।
10 तिनीहरू सात राजाहरू पनि हुन् । पाँच जना राजा पतन भइसकेका छन्, एक जना अस्तित्वमा छ, र एक जना अहिलेसम्म आएको छैन । जब त्‍यो आउँछ, तब केही समयका लागि रहन्‍छ ।
11 त्‍यो पशु अस्तित्वमा थियो, तर अहिले अस्तित्वमा छैन । त्‍यो आफैँ पनि आठौँ राजा हो, तर ती सात राजामध्‍ये त्‍यो एक हो, तर त्‍यो नष्‍ट हुन गइरहेको छ ।
12 तिमीले देखेका दस वटा सीङ दस जना राजा हुन्, जसले अहिलेसम्म राज्‍य प्राप्‍त गरेका छैनन्, तर त्‍यो पशुसँगै तिनीहरूले एक घण्टाका निम्ति राजाकै अधिकार प्राप्‍त गर्नेछन् ।
13 यिनीहरूको एउटै विचार छ, र तिनीहरूले आफ्नो शक्‍ति र अधिकार त्‍यो पशुलाई दिन्‍छन् ।
14 तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन् । तर थुमाले तिनीहरूलाई जित्‍नुहुनेछ, किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्‍छ, र उहाँसँग हुनेहरू बोलाइएका, छानिएका र विश्‍वासयोग्यहरू हुन् ।”
15 ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेको पानीमाथि जहाँ त्‍यो वेश्या बसेकी छे, त्‍यो पानी मानिसहरू, भिड, जाति र भाषाहरू हुन् ।”
16 तिमीले देखेका दस वटा सीङ र त्‍यो पशुले त्‍यो वेश्यालाई घृणा गर्नेछन् । तिनीहरूले त्‍यसलाई एकलो र नाङगै पारेर त्‍यसको शरीरलाई सिद्ध्‍याउनेछन्, र त्‍यसलाई तिनीहरूले आगोले पूर्ण रूपमा डढाउनेछन् ।
17 किनभने परमेश्‍वरको वचन पुरा नहोउञ्‍जेलसम्म एउटै मनको भई तिनीहरूले आफ्नो अधिकार त्‍यो पशुलाई राज्‍य गर्न दिन उहाँको उद्देश्य पुरा हुनलाई परमेश्‍वरले यस्तो विचार हलिदिनुभयो ।
18 तिमीले देखेको त्‍यो स्‍त्री पृथ्वीका राजाहरूमाथि शासन गर्ने महानगरी हो ।”