15
तब मैले अर्को अचम्म र शक्‍तिशाली चिह्न स्वर्गमा देखेः त्‍यहाँ सात जना स्वर्गदूतले सात वटा विपत्ति लिएका थिए जुनचाहिँ अन्‍तिम विपत्तिहरू थिए, किनकि तिनीहरूमा परमेश्‍वरको क्रोध पुरा भएको थियो ।
2 मैले आगोसँग मिसिएको काँचको समुद्र जस्‍तो केही देखा परेको देखेँ । त्‍यहाँ समुद्रको छेउमा पशु, त्‍यसको मूर्ति र नाउँको सङ्ख्यामाथि प्रतिनिधित्व गर्दै विजय पाउनेहरू उभिएका थिए । परमेश्‍वरले दिनुभएको वीणा तिनीहरूले पक्रिरहेका थिए ।
3 तिनीहरूले परमेश्‍वरका दास मोशा र थुमाको गीत गाइरहेका थिएः “हे सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका कामहरू महान् र आश्‍चर्यपूर्ण छन् । हे जातिहरूका राजा, तपाईंका मार्गहरू न्‍यायी र सत्‍य छन् ।
4 हे प्रभु, तपाईंको नाउँको महिमा कसले गर्दैन र ? तपाईंसँग को डराउँदैन ? किनकि तपाईं मात्र पवित्र हुनुहुन्‍छ । सबै जाति आएर तपाईंको अगाडि आराधना गर्छन् किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट गरिएका छन् ।
5 यी कुरापछि मैले हेरँ, र स्वर्गमा गवाहीको पालको मन्‍दिर उघारियो ।
6 सुतीको चम्किलो पोशाक लगाएर र सुनको फित्ता छातीको वरिपरि लगाएर सात जना स्वर्गदूत सात वटा विपत्ति लिएर महा-पवित्रस्थानबाट बाहिर आए ।
7 चार जीवित प्राणीमध्‍ये एउटाले सदाकाल जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएको सुनका सात वटा कचौरा ती स्वर्गदूतहरूलाई दिए ।
8 परमेश्‍वरको महिमा र उहाँको शक्‍तिले मन्‍दिर धुवाँले भरिएको थियो । ती सात स्वर्गदूतका सात वटा विपत्ति पुरा नहुञ्‍जेलसम्म कोही पनि त्‍यसभित्र पस्‍न सकेन ।