12
स्वर्गमा एउटा ठुलो चिह्न देखियोः सूर्य पहिरेकी तथा चन्‍द्रमालाई आफ्नो पैतलामुनि कुल्चेकी स्‍त्रीले बाह्र वटा तारा भएको मुकुटलाई पहिरेकी थिई ।
2 त्‍यो गर्भवती थिई, र बालक जन्‍माउने प्रसव-वेदनामा चिच्‍च्‍याइरहेकी थिई ।
3 त्‍यसपछि स्वर्गमा अर्को चिह्न देखियोः हेर ! त्‍यहाँ ठुलो रातो सात वटा टाउका र दस वटा सीङ र त्‍यसको टाउकोमा सात वटा मुकुट लगाएको एउटा ठुलो रातो पशु थियो ।
4 त्‍यसको पुच्‍छरले स्वर्गमा भएको एक-तिहाइ तारालाई सोहोरेर तिनीहरूलाई पृथ्वीमा खसाल्यो । बालक जन्‍माउन लागेकी त्‍यस स्‍त्रीको अगि त्‍यो डरलाग्दो पशु उभियो ताकि त्‍यसले त्‍यसको बालकलाई जन्‍माउने बित्तिकै निल्न सकोस् ।
5 त्‍यसले एउटा बालकलाई जन्‍माई, जसले फलामको लौरोसँगै सबै जातिमाथि शासन गर्नेछ । त्‍यसको बालकलाई खोसेर परमेश्‍वर र उहाँको सिंहासनतिर लगियो ।
6 अनि त्‍यो स्‍त्री उजाड-स्थानभित्र भागी, जहाँ परमेश्‍वरले त्‍यसको निम्ति ठाउँ तयार पार्नुभएको थियो, ताकि बाह्र सय साठी दिनसम्म त्‍यसलाई हेरचाह गर्न सकियोस् ।
7 अब स्वर्गमा युद्ध भयो । मिखाएल र तिनका दूतहरूले त्‍यस पशुको विरुद्धमा लडाइँ गरे, अनि अजिङ्‌गर र त्‍यसका दूतहरूले पनि लडाइँ गरे ।
8 तर जित्‍नका निम्ति त्‍यो अजिङ्‌गरसँग पर्याप्‍त बल थिएन । त्‍यसकारण, स्वर्गमा त्‍यसको र त्‍यसका दूतहरूका निम्ति कुनै ठाउँ भएन ।
9 त्‍यो ठुलो अजिङ्‌गर अर्थात् प्राचीन सर्प जसलाई दुष्‍ट वा शैतान भनिन्‍थ्यो, जसले सारा संसारलाई छल गर्छ, त्‍यसलाई पृथ्वीमा फ्याँकियो र त्‍यसका दूतहरूलाई पनि त्‍यससँगै पृथ्वीमा फ्याँकियो ।
10 तब मैले स्वर्गमा एउटा ठुलो आवाज सुनेँः “अब मुक्‍ति, शक्‍ति, हाम्रा परमेश्‍वरको राज्‍य, ख्रीष्‍टको अधिकार आएका छन् । किनभने हाम्रा भाइहरूलाई दोष लगाउने फ्याँकिएको छ, जसले परमेश्‍वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँथ्यो ।
11 तिनीहरूले त्‍यसलाई थुमाको रगतद्वारा र वचनको साक्षीद्वारा जिते, किनकि तिनीहरूले मृत्‍युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन् ।
12 त्‍यसकारण, हे स्वर्ग र त्‍यसमा रहनेहरू तिमीहरू सबै रमाओ । तर पृथ्वी र समुद्रलाई धिक्‍कार ! किनकि शैतान तिमीहरूकहाँ तल गएको छ । त्‍यो डरलाग्दो रिसले भरिएको छ, किनभने त्‍योसँग थोरै मात्र समय छ भनेर त्‍यसलाई थाहा छ ।
13 आफू पृथ्‍वीमा फ्याँकिएको कुरा जब अजिङ्‌गरले महसुस गर्‍यो, तब त्‍यसले बालक जन्‍माउने स्‍त्रीलाई सतायो ।
14 अनि सर्पको उपस्थितिबाहिर तयार पारेको ठाउँ उजाड-स्थानमा उडेर जानका निम्ति त्‍यस स्‍त्रीलाई एउटा ठुलो गरुडको दुइ वटा पखेटा दिइयो । यो त्‍यही ठाउँ थियो जहाँ त्‍यसलाई एक समय, समयहरू र आधा समयका निम्ति वास्ता गर्न सकिन्‍थ्यो ।
15 त्‍यस स्‍त्रीलाई बाढीले बगाएर टाढा लैजाओस् भनेर त्‍यस सर्पले आफ्नो मुखबाट पानीको नदि जस्‍तै निकाल्यो ।
16 तर पृथ्वीले स्‍त्रीलाई सहायता गर्‍यो । अजिङ्‌गरले आफ्नो मुखबाट निकालेको नदी पृथ्वीले आफ्नो मुख उघारेर निल्यो ।
17 त्‍यसपछि त्‍यो अजिङ्‌गर स्‍त्रीप्रति क्रोधित भयो अनि परमेश्‍वरको आज्ञा पालन गर्ने र येशूको बारेमा गवाही दिने त्‍यसका बाँकी रहेका सन्‍तानहरूसँग युद्ध गर्न गयो ।
18 तब त्‍यो अजिङ्‌गर समुद्र किनारको बालुवामाथि उभियो ।