5
तब सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हाततिर सात वटा छाप लगाएर यसलाई बन्‍द गरिएको अगाडि र पछाडि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखेँ ।
2 “यस मुट्ठोलाई खोल्न र यसका छापहरूलाई तोड्न को योग्यको छ ?” भनी एक जना शक्‍तिशाली स्वर्गदूतले चर्को सोरमा घोषणा गरेको मैले देखेँ ।
3 स्वर्गमा वा यस पृथ्वीमा वा यस पृथ्वीमुनि भएका कसैले पनि यस मुट्ठोलाई खोल्न वा यसलाई पढ्न सकेन ।
4 म दुःखित भएर रोएँ, किनकि यस मुट्ठोलाई खोल्न र पढ्न योग्यको कोही पनि भेट्टाइएन ।
5 तर ती एल्डरहरूमध्‍येका एक जनाले मलाई भने, “नरोऊ । हेर ! यहूदाको कुलको सिँह, दाऊदको मुलले विजय प्राप्‍त गर्नुभएको छ । त्‍यो मुट्ठो र त्‍यसका सात वटा छाप खोल्न उहाँ योग्यका हुनुहुन्‍छ ।”
6 मैले सिंहासन र चार वटा जीवित प्राणी र एल्डरहरूका बीचमा मारिएको जस्‍तो देखिनुहुने एउटा थुमालाई उभिरहेको देखेँ । उहाँका सात वटा सीङ र सात वटा आँखा थिए । यी सारा संसारभरि पठाइएका परमेश्‍वरका सात आत्मा हुन् ।
7 उहाँ जानुभयो र सिंहासनमा बसिरहनुहुनेको दाहिने हातबाट त्‍यस मुट्ठोलाई समात्‍नुभयो ।
8 जब उहाँले त्‍यो मुट्ठोलाई लिनुभयो, ती चार वटा जीवित प्राणी र चौबिस जना एल्डर उहाँको अगाडि घोप्‍टो परे । तिनीहरू हरेकसँग वीणा र धूपले भरिएका सुनका धुपौराहरू थियो, जुन विश्‍वासीहरूका प्रार्थना हुन् ।
9 तिनीहरूले एउटा नयाँ गीत गाएः “तपाईं त्‍यो मुट्ठोलाई लिन र त्‍यसका छापहरूलाई खोल्न योग्यका हुनुहुन्‍छ । किनकि तपाईं मारिनुभयो, र तपाईंको रगतले हरेक जाति, भाषा, मानिस र राष्‍ट्रलाई तपाईंले परमेश्‍वरका निम्ति किन्‍नुभयो ।
10 परमेश्‍वरको सेवा गर्न तपाईंले तिनीहरूलाई राज्‍य र पूजाहारीहरू बनाउनुभयो, र तिनीहरूले पृथ्वीमा राज्‍य गर्नेछन् ।”
11 तब मैले हेरेँ र सिंहासन, जीवित प्राणीहरू र एल्डरहरूका वरिपरि धेरै स्वर्गदूतका आवाजलाई सुनेँ । तिनीहरूको पुरा सङ्ख्या दसौँ हजार र हजारै हजार थियो ।
12 तिनीहरूले चर्को सोरमा यसो भने, “शक्‍ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा प्राप्‍त गर्न मारिनुभएका थुमा योग्यका हुनुहुन्‍छ ।”
13 स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमुनि सृष्‍टि गरिएका हरेक थोकले यसो भनेको मैले सुनेँ, “उहाँ जो सिंहासनमा विराजमान हुनुहुने र थुमालाई, प्रशंसा, आदर, महिमा र राज्‍य गर्ने शक्‍ति सदासर्वदा होस् ।”
14 ती चारै वटा जीवित प्राणीले भने, “आमेन ।” र एल्डरहरू आफैँ घोप्‍टो परेर आराधना गरे । [टिपोटः पुरानो संस्करणमा यसरी लेखिएको छ] चौबिस एल्डर आफैँ घोप्‍टो परेर सदासर्वदा रहिरहनुहुनेलाई आराधना गरे ।