4
मैले यो भनिरहेको छु, कि उत्तराधिकारी बालकै भएसम्म ऊ सारा सम्पत्तिको मालिक भए तापनि ऊ कमारो भन्‍दा फरक हुँदैन ।
2 बरु, उसको बुबाले निर्धारण गरेको समयसम्म ऊ अभिभावकहरू र संरक्षकहरूको मुनि हुन्‍छ ।
3 यसरी नै, हामीहरू पनि जब बालक थियौँ, यस जगत्‌का आधारभूत सिद्धान्‍तहरूको बन्धनमा थियौँ ।
4 तर जब ठिक समय आयो, तब परमेश्‍वरले व्यवस्थाअनुसार स्‍त्रीबाट जन्‍मनुभएका उहाँका पुत्रलाई पठाउनुभयो ।
5 हामी धर्मपुत्रको रूपमा स्वीकारिऔँ भनेर उहाँले व्यवस्थामुनि भएकाहरूलाई छुटकारा दिनको निम्ति यसो गर्नुभयो ।
6 तिमीहरू पुत्रहरू भएका हुनाले परमेश्‍वरले उहाँका पुत्रको आत्मालाई हाम्रा हृदयहरूमा पठाउनुभयो, त्‍यो आत्मा जसले, “अब्बा, पिता” भनेर पुकार्नुहुन्‍छ ।
7 यसैकारणले गर्दा, अब तिमी दास होइनौ, तर पुत्र हौ । यदि तिमी पुत्र हौ भने, तिमी परमेश्‍वरको एक उत्तराधिकारी पनि हौ ।
8 तर पहिले जब तिमीहरूले परमेश्‍वरलाई चिन्‍दैन थियौ, तिमीहरू तिनीहरूका दास थियौ जो स्वभावैले ईश्‍वरहरू होइनन् ।
9 तर अहिले तिमीहरूले परमेश्‍वरलाई चिन्‍दछौ वा निश्‍चय नै तिमीहरू परमेश्‍वरद्वारा चिनिएका छौ भने, किन तिमीहरू फेरि कमजोर र मूल्यहीन आधारभूत सिद्धान्‍तहरूतर्फ फर्किरहेका छौ ? के तिमीहरू फेरि दास हुने चाहना गर्छौ ?
10 तिमीहरूले ध्‍यानपूर्वक विशेष दिनहरू, औँसी, ऋतुहरू र वर्षहरूलाई मान्‍दछौ ।
11 म तिमीहरूका लागि चिन्‍ता गर्दछु । म यो चिन्‍ता गर्दछु, कि मैले तिमीहरूमाथि व्यर्थमा मेहनत गरेँ ।
12 भाइहरू हो, म यो बिन्‍ती गर्दछु, कि म जस्‍तो छु तिमीहरू पनि त्‍यस्तै होओ, किनकि म पनि तिमीहरू जस्‍तै भएको छु । तिमीहरूले मप्रति कुनै खराबी गरेका छैनौ ।
13 तर तिमीहरू यो कुरा जान्‍दछौ, कि मेरो शारीरिक बिमारीको कारण मैले तिमीहरूलाई पहिलो पटक सुसमाचार घोषणा गरेँ ।
14 मेरो शारीरिक अवस्थाले तिमीहरूलाई परीक्षा ल्याए तापनि तिमीहरूले मेरो उपेक्षा गरेनौ वा मलाई इन्कार गरेनौ । त्‍यसको सट्टामा, तिमीहरूले म नै ख्रीष्‍ट येशू भएझैँ गरी मलाई परमेश्‍वरका स्वर्गदूतको रूपमा स्वीकार गर्‍यौ ।
15 त्‍यसकारण, अब तिमीहरूको आनन्‍द कहाँ छ ? किनकि तिमीहरूको विषयमा म यो गवाही दिन्‍छु, कि सम्भव भए त तिमीहरूले मलाई आफ्नो आँखा निकालेर दिने थियौ ।
16 मैले तिमीहरूलाई सत्‍यता बताएको कारण, के म अब तिमीहरूको शत्रु भएँ त ?
17 तिनीहरूले तिमीहरूलाई उत्कट इच्‍छाले खोज्दछन्, तर कुनै भलाइको लागि होइन । तिमीहरूले तिनीहरूलाई पछ्याउनेछौ भनेर तिनीहरूले मबाट तिमीहरूलाई अलग गर्न चाहन्‍छन् ।
18 म तिमीहरूको उपस्थितिमा रहँदा मात्र नभएर सधैँ नै असल अभिप्रायको निम्ति उत्कट इच्‍छा राख्‍नु असल हुन्‍छ ।
19 मेरा साना बालकहरू हो, तिमीहरूभित्र ख्रीष्‍ट नबनिनुभएसम्म मैले फेरि तिमीहरूका निम्ति प्रसव वेदनाको पीडा भोगिरहेको छु ।
20 म अब तिमीहरूकहाँ उपस्थिति हुन चाहन्‍छु र मेरो बोलीलाई परिवर्तन गर्न चाहन्‍छु, किनकि म तिमीहरूको विषयमा अन्‍योलमा परेको छु ।
21 तिमीहरू जो व्यवस्थाको अधीनमा रहने इच्‍छा गर्दछौ, मलाई यो बताओ, कि व्यवस्थाले के भन्‍दछ भन्‍ने कुरा के तिमीहरूले सुन्‍दैनौ ?
22 किनकि यस्तो लेखिएको छ, कि अब्राहामका दुई जना छोरा थिए, एक जना दासी स्‍त्रीबाट र अर्कोचाहिँ स्वतन्‍त्र स्‍त्रीबाट ।
23 तथापि, दासीबाटको चाहिँ केवल शरीरद्वारा जन्‍मिएको थियो, तर स्वतन्‍त्र स्‍त्रीबाटको चाहिँ प्रतिज्ञाद्वारा जन्‍मिएको थियो ।
24 यी कुराहरूलाई एउटा रूपक दृष्‍टान्‍तद्वारा वर्णन गर्न सकिन्‍छ, किनकि यी दुई स्‍त्री दुई वटा प्रतिज्ञाझैँ हुन् । तिनीहरूमध्‍ये एक जनाचाहिँ सीनै पर्वतबाट हो । तिनले यस्ता छोराछोरीहरू जन्‍माउँछिन्, जो दासहरू हुन् । तिनी हागार हुन् ।
25 अहिले हागारचाहिँ अरबको सीनै पर्वत हो । तिनले वर्तमान यरूशलेमको सङ्‌केत गर्छिन्, किनकि तिनी तिनका छोराछोरीहरूसँगै दासत्वमा छिन् ।
26 तर माथि रहेको यरूशलेम स्वतन्‍त्र छ, जोचाहिँ हाम्री आमा हुन् ।
27 किनकि यस्तो लेखिएको छ, “ए बाँझी स्‍त्री, जसले जन्‍म दिन सक्दिनन्, आनन्‍द मनाओ । तिमी जसले बालक जन्‍माउने अनुभव पाएकी छैनौ, मन खोल र आनन्‍दले कराऊ । किनकि त्‍यस बाँझीका पति भएकाहरूका भन्‍दा पनि धेरै छोराछोरीहरू छन् ।”
28 भाइहरू हो, अब तिमीहरू पनि इसहाक जस्‍तै प्रतिज्ञाका छोराछोरीहरू हौ ।
29 त्‍यो समयमा शरीरअनुसार जन्‍मेकोले आत्माअनुसार जन्‍मेकोलाई सतायो । अहिले पनि यस्तै नै छ ।
30 धर्मशास्‍त्रले के भन्‍दछ ? “दासी स्‍त्री र तिनको पुत्रलाई निकालिदेओ । किनकि दासी स्‍त्रीको पुत्रले स्वतन्‍त्र स्‍त्रीको पुत्रसँगै समान उत्तराधिकार प्राप्‍त गर्नेछैन ।”
31 त्‍यसकारण, भाइहरू हो, हामी दासी स्‍त्रीका छोराछोरीहरू होइनौँ, तर स्वतन्‍त्र स्‍त्रीका छोराछोरीहरू हौँ ।