यूहन्‍ना 20:1-18
20
हप्‍ताको पहिलो दिन सबेरै अँध्‍यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन्, र तिनले चिहानबाट ढुङ्‌गा हटाइएको देखिन् ।
2 यसकारण तिनी दौडिन्, अनि सिमोन पत्रुस र येशूले प्रेम गर्नुभएका अर्का चेलाकहाँ आइन्, र तिनले तिनीहरूलाई भनिन्, “तिनीहरूले हाम्रा प्रभुलाई चिहानबाट निकालेर लगेछन्, अनि तिनीहरूले कहाँ राखेका छन्, हामी जान्‍दैनौं।”
3 तब पत्रुस र ती अर्का चेला बाहिर निस्के र तिनीहरू चिहानतिर गए ।
4 तिनीहरू दुवै जना सँगसँगै दौडे, अर्का चेला चाँडै पत्रुस भन्‍दा अगि दौडे, अनि चिहानमा पहिले आइपुगे ।
5 तिनले निहुरिएर चिहानभित्र हेरे; तिनले सुतीका कपडाहरू पडिरहेको देखे, तर तिनी भित्र पसेनन् ।
6 सिमोन पत्रुस तिनीपछि आइपुगे र चिहानभित्र गए । तिनले त्‍यहाँ सुतीका कपडाहरू पडिरहेका देखे,
7 अनि उहाँको शिरको कपडा पनि देखे । यो पडिरहेका कपडाहरूसँग थिएन, तर अलग्‍गै पट्‌ट्‌याइएको थियो ।
8 त्‍यसपछि चिहानमा पहिला आइपुग्‍ने ती अर्का चेला पनि भित्र गए, अनि तिनले देखे र विश्‍वास गरे ।
9 त्‍यसबेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भनी तिनीहरूले अझै पनि धर्मशास्‍त्र बुझेका थिएनन् ।
10 यसकारण चेलाहरू फेरि घर गए ।
11 तर मरियमचाहिँ रुँदै चिहानबाहिर उभिएरहेकी थिइन्; तिनले रुँदै निहुरिएर चिहानभित्र हेरिन् ।
12 तिनले सेतो पहिरनमा येशूको शरीर राखिएको शिरपट्टि एक र पाउपट्टि अर्को गरी दुई जना स्वर्गदूत बसिरहेका देखिन् ।
13 तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन् ।”
14 जब तिनले यसो भनिन्, तिनी फर्किन्, अनि तिनले त्‍यहाँ येशू उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्‍छ भनी तिनले चिनिनन् ।
15 येशूले तिनलाई भन्‍नुभयो, “ए नारी ! तिमी किन रोइरहेकी छ्यौ ? तिमी कसलाई खोज्दै छ्यौ ?” तिनले ती मानिस बगैँचाका माली हुन् भनी ठानिन्, र तिनले भनिन्, “हजुर, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्‍नुभएको छ, र म उहाँलाई लिएर जानेछु ।”
16 येशूले तिनलाई भन्‍नुभयो, “मरियम !” तिनी फर्किन्, र आरमेइक भाषामा उहाँलाई भनिन् “रब्बोनी” (जसको अर्थ हुन्‍छ, “गुरु” ) ।
17 येशूले तिनलाई भन्‍नुभयो, “मलाई नछोऊ, किनभने म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जानेछु ।”
18 मरियम मग्दलिनी चेलाहरूकहाँ आइन्, र तिनलाई उहाँले भन्‍नुभएका यी कुराहरू बताइन् र भनिन्, “मैले प्रभुलाई देखें।”
यूहन्‍ना 20:19-31
19 हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए, त्‍यसका ढोकाहरू बन्‍द गरिएको हुँदा, येशू आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति !”
20 जब उहाँले तिनीहरूलाई यो भन्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो । चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए ।
21 तब येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति होस् । जसरी पिताले मलाई पठाउनुभएको छ त्‍यसरी नै म तिमीहरूलाई पनि पठाउँदै छु ।”
22 जब येशूले यसो भन्‍नुभयो उहाँले तिनीहरूमाथि श्वास फुक्‍नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “पवित्र आत्मा लेओ ।
23 तिमीहरूले जसका पापहरू क्षमा गर्छौ ती तिनीहरूका निम्ति क्षमा गरिन्‍छन्; जसका पापहरू तिमीहरू क्षमा गर्दैनौ, ती क्षमा हुने छैनन्।”
24 येशू आउनुहुँदा बाह्र जना चेलामध्‍ये दिदुमस भनिने थोमाचाहिँ तिनीहरूसँग थिएनन् ।
25 पछि अरू चेलाहरूले “हामीले प्रभुलाई देख्यौं” भनी तिनलाई बताए । तिनले तिनीहरूलाई भने, “मैले उहाँका हातका काँटीहरूका डोबहरू नदेखेसम्म र मेरो औँला त्‍यहाँ नहालेसम्म, र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्‍वास गर्नेछैनँ ।”
26 आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए, र थोमा पनि तिनीहरूसँगै थिए । ढोकाहरू बन्‍द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति !”
27 त्‍यसपछि उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रा औला यहाँ हाल, र मेरा हातहरू हेर अनि मेरो कोखामा तिम्रो हात हाल, अविश्‍वासी नहोऊ, तर विश्‍वास गर ।”
28 थोमाले जवाफ दिए, र उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्‍वर !”
29 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारणले विश्‍वास गरेका छौ । धन्‍य हुन् तिनीहरू जसले देखेका छैनन् र पनि विश्‍वास गरेका छन् ।”
30 यस पुस्तकमा नलेखिएका अरू धेरै चिन्हहरू येशूले चेलाहरूको उपस्थितिमा गर्नुभयो,
31 तर यी चाहिँ लेखिएका छन्, ताकि येशू नै ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी तिमीहरूले विश्‍वास गर्न सक र विश्‍वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक ।