यूहन्‍ना 15:1-17
15
म साँचो दाख हुँ र मेरा पिता दाखबारीका किसान हुनुहुन्‍छ ।
2 ममा भएका फल नफलाउने हरेक हाँगालाई उहाँले छाँट्नुहुन्‍छ र उहाँले फल फलाउने हरेक हाँगालाई पनि छिँवल्नुहुन्‍छ, ताकि यसले अझ धेरै फल फलाओस् ।
3 मैले तिमीहरूलाई भनेको सन्‍देशले तिमीहरू अगि नै शुद्ध भइसकेका छौ ।
4 ममा रहो र म तिमीहरूमा रहनेछु । जसरी दाखको बोटमा नरहेसम्म हाँगा आफैले फल फलाउन सक्दैन, त्‍यसरी नै तिमीहरू पनि ममा नरहेसम्म फल फलाउन सक्दैनौ ।
5 म दाखको बोट हुँ, र तिमीहरू त्‍यसका हाँगाहरू हौ । जो ममा रहन्‍छ र म त्‍यसमा रहनेछु, त्‍यसले धैरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही पनि गर्न सक्दैनौ ।
6 यदि कोही ममा रहँदैन भने त्‍यसलाई हाँगालाई झैं फालिन्‍छ र त्‍यो सुक्‍छ; अनि तिनीहरूले हाँगाहरूलाई बटुल्छन् र आगोमा हाल्छन्, अनि तिनीहरूलाई जलाइन्‍छ ।
7 यदि तिमीहरू ममा रह्यौ र मेरा वचनहरू तिमीहरूमा रहे भने, तिमीहरू जे इच्‍छा गर्छौ सो माग, र यो तिमीहरूका निम्ति गरिनेछ ।”
8 मेरा पिता यसमा महिमित तुल्याइनुहुनेछः तिमीहरू धेरै फल फलाउन सक र तिमीहरू मेरा चेलाहरू होओ ।
9 जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, त्‍यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु; मेरो प्रेममा रहो ।
10 तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ भने जसरी मैले मेरा पिताको आज्ञा पालन गरेको छु र उहाँको प्रेममा रहेको छु, त्‍यसरी नै तिमीहरू मेरो प्रेममा रहनेछौ ।
11 मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि मेरो आनन्‍द तिमीहरूमा होस् र तिमीहरूको आनन्‍द पूर्ण होस् ।
12 यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें तिमीहरूले एक अर्कालाई त्‍यसरी नै प्रेम गर ।
13 आफ्नो मित्रको लागि आफ्नो ज्‍यानै दिनु भन्‍दा अर्को कुनै महान् प्रेम छैन ।
14 यदि तिमीहरूले मैले आज्ञा गरेका कुराहरू गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ ।
15 म तिमीहरूलाई नोकरहरू भन्‍दिनँ, किनकि त्‍यसका मालिकले के गरिरहेछ सो नोकरले जान्‍दैन । मैले तिमीहरूलाई मित्र भनेको छु, किनकि मैले मेरा पिताबाट सुनेका सबै कुरा तिमीहरूलाई प्रष्‍ट पारेको छु ।
16 तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनें, र तिमीहरूलाई नियुक्‍त गरें, ताकि तिमीहरू जाओ, र फल फलाओ अनि तिमीहरूका फल रहनुपर्छ । त्‍यसैले तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, सो उहाँले तिमीहरूलाई दिनुहुनेछ ।
17 म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छुः कि तिमीहरूले एक अर्कालाई प्रेम गर्नेछौ ।
यूहन्‍ना 15:18-27
18 यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, जान कि यसले तिमीहरूलाई घृणा गर्नुअगि मलाई घृणा गरेको छ ।
19 यदि तिमीहरू संसारका थियौ त, संसारले तिमीहरूलाई आफ्नैझैं प्रेम गर्ने थियो । तर तिमीहरू संसारका होइनौ, र मैले तिमीहरूलाई संसारबाट चुनें, यसकारण संसारले तिमीहरूलाई घृणा गर्छ ।
20 मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर त्‍यसको मालिक भन्‍दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् । यदि तिनीहरूले मेरो वचन पालन गरेका थिए भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् ।”
21 तिनीहरू मेरो नाउँको कारणले तिमीहरूलाई यी सबै कुराहरू गर्नेछन्, किनकि मलाई पठाउनुहुनेलाई तिनीहरू चिन्‍दैनन् ।
22 यदि म आएको थिइनँ, र तिनीहरूसँग बोलेको थिइनँ भने त, उनीहरूमा पाप हुने थिएन, तर अब त तिनीहरूसित आफ्नो पापको लागि कुनै बहाना छैन ।
23 जसले मलाई घृणा गर्छ, त्‍यसले मेरा पितालाई पनि घृणा गर्छ ।
24 यदि मैले तिनीहरू माझ कसैले नगरेका कामहरू गरेको थिइनँ भने तिनीहरूमा कुनै पाप हुने थिएन, तर अहिले तिनीहरूले म र मेरा पिता दुवैलाई देखेका छन्, र घृणा गरेका छन् ।
25 तर यो तिनीहरूको व्यवस्थामा लेखिएको वचन पूरा हुनलाई हो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे ।’
26 जब सल्लाहकार आउनुहुन्‍छ जसलाई म तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात् सत्‍यको आत्मा जो पिताबाट आउनुहुन्‍छ, उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ ।
27 तिमीहरूले पनि गवाही दिइरहेका छौ, किनकि तिमीहरू मसँग सुरुदेखि नै छौ ।