यूहन्‍ना 12:1-19
12
निस्तार-चाडको छ दिन अगाडि येशू बेथानिया आउनुभयो, जहाँ उहाँले मृत्‍युबाट जीवित पार्नुभएका लाजरस थिए ।
2 त्‍यसकारण, तिनीहरूले उहाँको लागि बेलुकीको भोजन तयार पारे । मार्थाले सेवा-सत्कार गरिरहेकी थिइन् र लाजरस येशूसँगै टेबलमा ढल्किरहेकाहरूमध्‍ये एक जना थिए ।
3 तब मरियमले आधा लिटर जति शुद्ध जटामसीले बनेको बहुमूल्य अत्तर लिइन्, र येशूको पाउ अभिषेक गरिन्, अनि तिनको आफ्नो कपालले उहाँको पाउ पुछिन् । त्‍यो घर अत्तरको सुगन्धले भरियो ।
4 उहाँका चेलाहरूमध्‍ये एक जना यहूदा स्करियोत जसले उहाँलाई विश्‍वासघात गर्ने थियो, त्‍यसले भन्‍यो,
5 “यो अत्तर तीन सय चाँदीका सिक्‍कामा बेचेरे गरिबहरूलाई किन दिइएन ?”
6 त्‍यसले यो कुरा गरिबहरूको वास्ता गरेर भनेको थिएन, तर त्‍यो चोर भएकोले भनेको हो । त्‍यससँग पैसाको थैलो हुन्‍थ्यो र यसमा राखिएकोबाट चोर्ने गर्थ्यो ।
7 येशूले भन्‍नुभयो, “तिनीसँग मेरो दफनको दिनको लागि जे छ, त्‍यो राख्‍न देऊ ।
8 गरिबहरू त तिमीहरूसँग सधैं हुनेछन्, तर म तिमीहरूसँग सधैं हुनेछैनँ ।”
9 अब यहूदीहरूको ठूलो भीडले येशू त्‍यहाँ हुनुहुन्‍छ भन्‍ने थाहा पायो र तिनीहरू येशूको निम्ति मात्र होइन, तर लाजरसलाई हेर्न पनि आए, जसलाई येशूले मृत्‍युबाट जीवित पार्नुभएको थियो ।
10 मुख्य पूजाहारीहरूले सँगसँगै षड्‍यन्‍त्र रचे, ताकि तिनीहरूले लाजरसलाई पनि मार्न सकेको होस् ।
11 किनकि तिनको कारण धेरै यहूदीहरू भड्‌किएका थिए र येशूमा विश्‍वास गरेका थिए ।
12 अर्को दिन चाडमा ठूलो भीड आयो । जब येशू यरूशलेममा आउँदै हुनुहुन्‍छ भन्‍ने तिनीहरूले सुने,
13 तिनीहरूले खजुरको बोटका हाँगाहरू लिए र उहाँलाई भेट्न गए, अनि उच्‍च सोरमा यसो भने, “होसन्‍ना ! इस्राएलका राजा अर्थात् परमप्रभुको नाउँमा आउनुहुने धन्‍यको हुनुहुन्‍छ ।”
14 येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्‍यसमाथि चढ्नुभयो, जस्‍तो यो लेखिएको थियो,
15 “सियोनकी छोरी नडराऊ, हेर, तिम्रा राजा गधामा चढेर आउँदै हुनुहुन्‍छ ।”
16 उहाँका चेलाहरूले सुरुमा यी कुराहरू बुझेनन्, तर जब येशू महिमित हुनुभयो तब उहाँको विषयमा लेखिएका थिए र यी सबै कुराहरू तिनीहरूले उहाँकै निम्ति गरेका थिए भनी उनीहरूले सम्झे ।
17 उहाँले अहिले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुहुँदा र तिनलाई मृत्‍युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भीडले गवाही दियो ।
18 यही कारणले गर्दा पनि भीडहरू उहाँलाई भेट्न गए, किनकि उहाँले यो चिह्न‍ गर्नुभयो भन्‍ने तिनीहरूले सुने ।
19 यसकारण फरिसीहरूले एक-आपसमा भने, “हेर, तिमीहरू केही पनि गर्न सक्दैनौ; हेर, सारा संसारै त्‍यसको पछि लागेको छ ।”
यूहन्‍ना 12:20-36
20 अहिले चाडमा आराधना गर्न माथि गइरहेका तिनीहरूमध्‍ये केही ग्रीकहरू पनि थिए ।
21 यिनीहरू फिलिपकहाँ गए जो गालीलको बेथसेदाका थिए र तिनलाई भने, “हजुर, हामी येशूलाई भेट्न चाहन्‍छौँ ।”
22 फिलिपले गएर अन्‍द्रियासलाई भने । अनि अन्‍द्रियास फिलिपसँग गए, र तिनीहरूले येशूलाई भने ।
23 येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मानिसका पुत्रको निम्ति महिमित हुने समय आएको छ ।
24 साँचो, साँचो म तिमीहरूलाई भन्‍दछु, गहुँको दाना जबसम्म माटोमा परेर मरेन भने, त्यो आफै एउटै रहन्‍छ, तर यदि त्‍यो मर्यो भने त्यसले धेरै फल फलाउनेछ ।
25 जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्‍यसले त्‍यो गुमाउनेछ, तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्‍यसले यो अनन्‍त जीवनको लागि सुरक्षित राख्‍नेछ ।
26 यदि कसैले मेरो सेवा गर्छ भने, त्‍यसले मलाई पछ्याओस्, र म जहाँ हुन्‍छु त्‍यहाँ मेरो सेवक पनि हुनेछ । यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्‍यसको आदर गर्नुहुनेछ ।
27 अहिले मेरो प्राण दुःखित भएको छः म के भनूँ ? हे पिता, मलाई यो घडीबाट बचाउनुहोस् ? तर यही कारणको निम्ति म यो घडीमा आएँ ।
28 हे पिता, तपाईंको नाउँ महिमित पार्नुहोस् ।” तब स्वर्गबाट एउटा आवाज आयो, र भन्‍यो, “मैले यिनलाई महिमित पारेको छु र म फेरि महिमित पार्नेछु ।”
29 तब उहाँको छेउमा उभिने भीडले यो आवाज सुने, र तिनीहरूले मेघ गर्ज्‍यो भने । अरूहरूले भने, “स्वर्गदूत उहाँसँग बोलेको हो ।”
30 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “यो आवाज मेरो निम्ति होइन, तर तिमीहरूका निम्ति आएको हो ।”
31 अब यो संसारको न्‍याय हुन्‍छ, अब यस संसारको शासक फ्याँकिनेछ ।
32 अनि जब म पृथ्वीबाट उचालिन्‍छु, म सबैलाई आफूतिर खिँच्‍नेछु ।”
33 कस्तो किसिमको मृत्‍यु मर्दै हुनुहुन्‍छ भन्‍ने सङ्‌केत गर्न उहाँले यो कुरा भन्‍नुभएको थियो ।
34 भीडले उहाँलाई जवाफ दियो, “हामीले व्यवस्थाबाट सुनेका छौं, कि ख्रीष्‍ट सधैं रहनुहुनेछ । तपाईं कसरी भन्‍नुहुन्‍छ, ‘मानिसका पुत्र उचालिनुपर्छ ?’ यो मानिसका पुत्र को हो ?”
35 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “केही समयको निम्ति ज्‍योति तिमीहरूसँग अझै हुनेछ । तिमीहरूसँग ज्‍योति हुँदा हिँड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् । जो अन्धकारमा हिँड्छ त्‍यो कहाँ जाँदै छ भनी त्‍यसलाई थाहा हुँदैन ।
36 तिमीसँग ज्‍योति हुँदा नै त्‍यो ज्‍योतिमा विश्‍वास गर, ताकि तिमीहरू ज्‍योतिको सन्‍तान हुन सक ।” येशूले यी कुराहरू भन्‍नुभयो र त्‍यसपछि उहाँ त्‍यहाँबाट प्रस्थान गर्नुभयो र उहाँ तिनीहरूबाट लुकेर बस्‍नुभयो ।
यूहन्‍ना 12:37-50
37 तिनीहरूको सामु येशूले यति धेरै चिह्न‍हरू गर्नुभए तापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्‍वास गरेनन् ।
38 यशैया अगमवक्‍ताको वचन पूरा होस् भनेर यसो भएको थियो । तिनी भन्‍दछन्, “प्रभु, हाम्रो समाचार कसले विश्‍वास गरेको छ ? र परमेश्‍वरको बाहुली कसलाई प्रकट गरिएको छ ?”
39 यसैकारण, तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनकि यशैयाले यसो पनि भने,
40 “उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ; नत्रता तिनीहरूका आँखाले देख्‍ने थिए र उनीहरूका हृदयले बुझ्‍ने थिए र फर्किने थिए, अनि म तिनीहरूलाई निको पार्ने थिएँ ।”
41 यशैयाले यी कुराहरू भने, किनकि तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले ।
42 तरै पनि शासकहरूमध्‍ये धेरैले येशूमा विश्‍वास गरे, तर फरिसीहरूको कारणले गर्दा तिनीहरूले यसलाई स्वीकार गरेनन्, ताकि तिनीहरूलाई सभाघरमा रोक नलगाइयोस् ।
43 तिनीहरूले परमेश्‍वरबाट आउने प्रशंसा भन्‍दा मानिसहरूबाट आउने प्रशंसा बढी रुचाए ।
44 येशूले ठूलो सोरमा भन्‍नुभयो, “जसले ममाथि विश्‍वास गर्छ त्‍यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेमाथि पनि विश्‍वास गर्छ,
45 र जसले मलाई देख्‍छ त्‍यसले मलाई पठाउनुहुनेलाई देख्‍छ ।”
46 म संसारमा ज्‍योतिको रूपमा आएको छु ताकि जसले मलाई विश्‍वास गर्छ त्‍यो अन्धकारमा नरहोस् ।
47 यदि कसैले मेरो वचन सुन्‍छ, तर त्‍यसको पालना गर्दैन भने म त्‍यसको न्‍याय गर्दिनँ, किनकि म संसारको न्‍याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ ।
48 जसले मलाई इन्कार गर्छ, र मेरा वचनहरू ग्रहण गर्दैन, त्‍यसको न्‍याय गर्ने एक जना हुनुहुन्‍छः मैले बोलेको मेरो वचनले नै अन्‍त्‍यको दिनमा त्‍यसको न्‍याय गर्नेछ ।
49 किनकि म मेरो आफ्नै तर्फबाट बोलिनँ, तर मलाई पठाउनुहुने पिता नै हुनुहुन्‍छ, जसले मैले के बोल्ने र के भन्‍ने विषयमा आज्ञा दिनुभएको छ ।
50 म जान्‍दछु, कि उहाँको आज्ञा अनन्‍त जीवन हो । त्‍यसैले, म त्‍यही भन्‍छुः पिता मसँग जस्‍तो बोल्नुभएको छ, म त्‍यस्तै बोल्दछु।