यूहन्‍ना 7:1-24
7
अनि यी कुराहरू भएपछि येशू गालीलभरि यात्रा गर्नुभयो, किनभने यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका हुनाले उहाँ यहूदियामा जान चाहनुभएन ।
2 यहूदीहरूको छाप्रो-वास चाड नजिकै आएको थियो ।
3 यसकारण, उहाँका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छोडेर यहूदियामा जानुहोस्, ताकि तपाईंका चेलाहरूले पनि तपाईंले गर्नुहुने कामहरू देख्‍न सकून् ।
4 यदि उसले आफैलाई खुला रूपमा चिनाउन चाहन्‍छ भने कसैले पनि कुनै कुरा गुप्‍तमा गर्दैन । यदि तपाईंले यी कुराहरू गर्नहुन्‍छ भने आफूलाई संसारमा देखाउनुहोस् ।”
5 किनकि उहाँका भाइहरूले पनि उहाँलाई विश्‍वास गर्दैनथे ।
6 त्‍यसकारण येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो समय अझै आएको छैन, तर तिमीहरूको समय सधैं तयार छ ।
7 संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर यसले मलाई घृणा गर्छ, किनभने यसको काम खराब छ भनेर यसको बारेमा म गवाही दिन्‍छु ।
8 तिमीहरू चाडमा जाओ, म यो चाडमा जादिनँ, किनभने मेरो समय अहिलेसम्म पूरा भएको छैन ।”
9 उहाँले तिनीहरूलाई यी कुराहरू भन्‍नुभएपछि उहाँ गालीलमा नै बस्‍नुभयो ।
10 तर जब उहाँका भाइहरू चाडमा गए, तब उहाँ पनि खुलमखुल्ला होइन, तर गोप्य तरिकाले जानुभयो ।
11 यहूदीहरूले उहाँलाई चाडमा खोजिरहेका थिए र भने, “उनी कहाँ छन् ?”
12 त्‍यहाँ भीडहरूमा उहाँको बारेमा धेरै बहस भएको थियो । कसैले भने, “उनी असल मानिस हुन् ।” अरूहरूले भने, “होइन, यसले भीडहरूलाई बहकाउँछ ।”
13 तैपनि यहूदीहरूको डरको कारणले कसैले पनि खुलमखुल्ला बोलेन ।
14 जब चाड आधा सिद्धिएको थियो, येशू मन्‍दिरमा जानुभयो र सिकाउन सुरु गर्नुभयो ।
15 यहूदीहरू अचम्मित भएर यसो भने, “यो मानिसले कसरी यति धेरै जान्‍दछ ? यसलाई त कहिल्यै पनि शिक्षा दिइएको छैन ।”
16 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले दिएको शिक्षा मेरो होइन, तर उहाँको हो जसले मलाई पठाउनुभयो ।
17 यदि कसैले उहाँको इच्‍छा पालन गर्ने इच्‍छा गर्छ भने यो परमेश्‍वरबाट आएको हो वा म मेरो आफ्नै तर्फबाट बोल्छु भनी त्‍यसले यो शिक्षाबारे जान्‍नेछ ।
18 आफ्नै तर्फबाट बोल्नेले उसको आफ्नै महिमा खोज्दछ, तर जसले आफूलाई पठाउनुहुनेको महिमा खोज्दछ, त्‍यो व्‍यक्‍ति सत्‍य हो र उसमा कुनै अधार्मिकता हुँदैन ।
19 के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् र ? तैपनि तिमीहरू कसैले व्यवस्था पालन गर्दैनौ । तिमीहरू मलाई किन मार्न चाहन्‍छौ ?”
20 भीडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ । तिमीलाई कसले मार्न खोज्छ ?”
21 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले एउटा काम गरें, र यसको कारण तिमीहरू सबै चकित हुन्‍छौ ।
22 मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो) अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ ।
23 मोशाको व्यवस्था भङ्‌ग नहोस् भनेर यदि एक जना मानिसले विश्रामको दिनमा खतना गर्न स्‍वीकार गर्छ भने तब मैले विश्रामको दिनमा एक जना मानिसलाई पूर्ण रूपमा स्वस्थ बनाएकोमा तिमीहरू मसँग किन रिसाउँछौ ?”
24 बाहिरी रूप हेरेर न्‍याय नगर, तर धार्मिकतापूर्वक न्‍याय गर ।
यूहन्‍ना 7:25-53
25 यरूशलेमबाट आएका केहीले भने, “के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन् ?
26 अनि हेर, यिनी खुलमखुला बोल्छन् र तिनीहरू यिनलाई केही पनि भन्‍दैनन् । वास्तवमा शासकहरूले यिनी नै ख्रीष्‍ट हुन् भन्‍ने जान्‍न सक्दैनन्, जान्‍न सक्छन् त ?
27 तापनि यो मानिस कहाँबाट आएको हो हामी जान्‍दछौँ । तर जब ख्रीष्‍ट आउनुहुन्‍छ उहाँ कहाँबाट आउनुहुन्‍छ कसैले पनि जान्‍नेछैन ।”
28 त्‍यसपछि येशूले मन्‍दिरमा सिकाइरहनुहुँदा ठूलो सोरमा यसो भन्‍नुभयो, “तिमीहरूले मलाई र म कहाँबाट आएको भनी दुवै जान्‍दछौ । म आफ्नै तर्फबाट आएको होइन, तर जसले मलाई पठाउनुभयो उहाँ सत्‍य हुनुहुन्‍छ जसलाई तिमीहरू चिन्‍दैनौ ।
29 म उहाँलाई चिन्‍दछु, किनभने म उहाँबाट आएको हुँ र उहाँले मलाई पठाउनुभयो ।”
30 तिनीहरूले उहाँलाई पक्रन कोसिस गरिरहेका थिए, तर उहाँमाथि कसैले पनि हात हालेन, किनभने उहाँको समय अझ पनि आएको थिएन ।
31 तर भीडका धेरैले उहाँमाथि विश्‍वास गरे, र तिनीहरूले भने, “के ख्रीष्‍ट आउनुहुँदा उहाँले यो मानिसले गरेको भन्‍दा धेरै चिह्न‍हरू गर्नुहुनेछ र ?”
32 भीडले येशूको बारेमा यी कुराहरूबारे खासखुस गरेको फरिसीहरूले सुने, अनि मुख्य पूजाहारी र फरिसीहरूले उहाँलाई पक्रन अधिकारीहरूलाई पठाए ।
33 त्‍यसपछि येशूले भन्‍नुभयो, “म अझै केही समयसम्म तिमीहरूसँगै हुन्‍छु, र त्‍यसपछि म मलाई पठाउनुहुने कहाँ जान्‍छु।
34 तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्‍छु तिमीहरू त्‍यहाँ आउन सक्‍नेछैनौ ।”
35 त्‍यसकारण यहूदीहरूले तिनीहरू माझमै भने, “यी मानिस कहाँ जानेछन्, कि हामी यिनलाई भेट्न नसकौँ ? के यिनी ग्रिकहरूका बिचमा छरपष्‍ट भएकाहरूकहाँ जानेछन् र ग्रिकहरूलाई सिकाउनेछन् ?”
36 यिनले ‘तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्‍छु तिमीहरू त्‍यहाँ आउन सक्‍नेछैनौ’ भनेको वचन के हो ?”
37 चाडको अन्‍तिम महान् दिनमा येशू खडा हुनुभयो र ठूलो सोरमा भन्‍नुभयो, “यदि कोही तिर्खाएको छ भने त्‍यो मकहाँ आओस् र पिओस् ।
38 धर्मशास्‍त्रले भनेझैं जसले मलाई विश्‍वास गर्छ त्‍यसको पेटबाट जीवित पानीका नदीहरू बग्‍नेछन् ।”
39 तर उहाँले यो पवित्र आत्माको बारेमा भन्‍नुभएको थियो जसलाई उहाँमा विश्‍वास गर्नेहरूले प्राप्‍त गर्थे । पवित्र आत्मा अझ पनि दिइएको थिएन, किनभने येशू अझ पनि महिमित हुनुभएको थिएन ।
40 जब तिनीहरूले यी वचनहरू सुने भीडका केहीले भने, “यिनी साँच्‍चै अगमवक्‍ता नै हुन् ।”
41 अरूहरूले भने, “यिनी ख्रीष्‍ट हुन् ।” तर कोहीले भने, “के ख्रीष्‍ट गालीलबाट आउँछन् त ?
42 के धर्मशास्‍त्रले ख्रीष्‍ट बेथलेहम अर्थात् दाऊद बसेका गाउँबाट र दाऊदका सन्‍तानहरूबाट नै आउनुहुनेछ भनेको छैन र ?”
43 यसरी त्‍यहाँ उहाँको कारणले भीडहरूमा विभाजन आयो ।
44 तिनीहरूमध्‍ये कतिले उहाँलाई पक्रे, तर कसैले पनि उहाँमाथि हात हालेन ।
45 त्‍यसपछि अधिकारीहरू मुख्य पूजाहारीहरू र फरिसीहरूकहाँ फर्केर आए, जसले तिनीहरूलाई भने, “तिमीहरूले त्‍यसलाई किन ल्याएनौ ?”
46 अधिकारीहरूले जवाफ दिए, “कोही मानिसले पनि कहिल्यै यसरी बोलेको छैन ।”
47 त्‍यसकारण फरिसीहरूले तिनीहरूलाई जवाफ दिए, “के तिमीहरू पनि छलियौ ?
48 के कुनै शासकहरू वा फरिसीहरू कसैले त्‍यसमाथि विश्‍वास गरेका छन् ?
49 तर यो भीडले व्यवस्था जान्‍दैन, तिनीहरू श्रापितहरू हुन् ।”
50 निकोदेमस (पहिला नै येशूकहाँ आउने एक जना फरिसी) ले तिनीहरूलाई भने,
51 “के हाम्रो व्यवस्थाले एउटा मानिसलाई त्‍यसबाट सुन्‍न र त्‍यसले के गर्छ भनी जान्‍न अगि न्‍याय गर्छ र ?”
52 तिनीहरूले जवाफ दिए र उनलाई भने, “के तिमी पनि गालीलबाट आएका हौ ? खोज र हेर गालीलबाट कुनै पनि अगमवक्‍ता आउँदैन ।”
53 (नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपीहरूले यूहन्‍ना ७ः५३-८ः११लाई हटाएका छन् । ) [तब सबै जना आ-आफ्नो घरतिर गए । ]