यूहन्‍ना 5:1-18
5
यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेम जानुभयो ।
2 यरूशलेमको भेडा-ढोका नजिकै एउटा तलाउ छ जसलाई हिब्रूमा बेथस्दा भनिन्‍छ जसको छानासहितका पाँच वटा दलान छन् ।
3 त्‍यहाँ ठूलो सङ्ख्यामा बिरामीहरू, अन्धा, लङ्‌गडा र पक्षाघातीहरू त्‍यो तलाउको नजिक पडिरहेका थिए । (नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपीहरूबाट यो पदावलीलाई हटाइएको छ) । ३ तिनीहरूले पानी छचल्किएको पर्खिरहेका थिए ।
4 (नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपीहरूले पद ४ लाई हटाएको छ) । ४ “परमेश्‍वरका स्वर्गदूत तल ओर्लिएर पानीलाई कुनै समयमा हल्लाइदिन्‍थे र त्‍यो पानी छचल्किरहँदा जो पहिले पानीमा पस्थ्यो त्‍यसको जस्‍तोसुकै रोग भए तापनि निको भइहाल्थ्यो ।
5 त्‍यहाँ अठतीस वर्षदेखि रोगले ग्रसित भएको कुनै एक जना मानिस थियो ।
6 जब येशूले त्‍यसलाई त्‍यहाँ पल्टिरहेको देख्‍नुभयो र उहाँले त्‍यो मानिस त्‍यहाँ धेरै समयदेखि रहेको थियो भनी महसुस गर्नुभयो, तब उहाँले त्‍यसलाई भन्‍नुभयो, “के तिमी स्वस्थ हुन चाहन्‍छौ ?”
7 त्‍यो बिरामी मानिसले जवाफ दियो, “हजुर, पानी छचल्किँदा मलाई पानीमा राखिदिने मेरो कोही पनि छैन । म आउँदा म भन्‍दा अगि अर्को पसिहाल्छ ।”
8 येशूले त्‍यसलाई भन्‍नुभयो, “उठ, आफ्नो चकटी लेऊ, र हिँड ।”
9 त्‍यो मानिस तुरुन्‍तै निको भयो र त्‍यसले आफ्नो ओछ्यान उठायो, र हिँड्‌यो । अब त्‍यो विश्रामको दिन थियो ।
10 त्‍यसैले, यहूदीहरूले त्‍यो निको भएको मानिसलाई भने, “यो विश्रामको दिन हो, र तिमीलाई तिम्रो चकटी बोकेर हिँड्ने अनुमति छैन ।”
11 त्‍यसले जवाफ दियो, “जसले मलाई स्वस्थ बनाउनुभयो, उहाँले नै मलाई ‘तिम्रो चकटी उठाऊ र हिँड’ भन्‍नुभयो ।”
12 उनीहरूले त्‍यसलाई भने, “तिमीलाई ‘तिम्रो यो उठाऊ र हिँड’ भन्‍ने त्‍यो मानिस को हो ?”
13 तापनि येशू सुटुक्‍क गइसक्‍नुभएकोले जो निको भएको थियो, त्‍यसलाई उहाँ को हुनुहुन्‍थ्यो भन्‍ने थाहा थिएन, किनकि त्‍यहाँ भीड लागेको थियो ।
14 पछि येशूले त्‍यस मानिसलाई मन्‍दिरमा भेट्टाउनुभयो र भन्‍नुभयो, “हेर, तिमी स्वस्थ भएका छौ । अब पाप नगर, ताकि तिमीमाथि यो भन्‍दा झन् खराबी आइनपरोस् ।”
15 त्‍यो मानिस गयो र त्‍यसलाई स्वस्थ बनाउने येशू हुनुहुँदोरहेछ भनी त्‍यसले यहूदीहरूलाई बतायो ।
16 अब यी कुराहरूका कारणले यहूदीहरूले येशूलाई सताए, किनकि उहाँले यी कुराहरू विश्रामको दिनमा गर्नुभएको थियो ।
17 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा पिताले अहिले पनि काम गरिरहनुभएको छ र म पनि काम गरिरहेको छु ।”
18 यसले गर्दा यहूदीहरूले उहाँलाई झनै मार्न खोजे, किनकि उहाँले विश्राम दिन मात्र तोड्नुभएन, तर आफैलाई परमेश्‍वर समान तुल्याएर परमेश्‍वरलाई पिता भन्‍नुभयो ।
यूहन्‍ना 5:19-47
19 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो, पिताले गरिरहनुभएको देख्‍नु बाहेक पुत्र आफैले केही गर्न सक्दैन, किनकि पिताले जे गरिरहनुभएको छ पुत्रले पनि त्‍यही कुराहरू गर्छ ।
20 किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्‍छ, र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्‍छ अनि उहाँले उनलाई यी कुराहरू भन्‍दा पनि ठुला कुराहरू देखाउनुहुनेछ, ताकि तिमीहरू अचम्मित हुन सक ।
21 किनकि पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्‍छ, र तिनीहरूलाई जीवन दिनुहुन्‍छ, त्‍यसरी नै पुत्रले पनि जसलाई चाहन्‍छ त्‍यसलाई जीवन दिन्‍छ ।
22 किनकि पिताले कसैको न्‍याय गर्नुहुन्‍न, तर उहाँले न्‍याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ ।
23 त्‍यसैले, तिनीहरूले पितालाई आदर गरेझैं, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्‍यसले उहाँलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन ।
24 साँचो, साँचो, जसले मेरो वचन सुन्‍छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्‍यससँग अनन्‍त जीवन हुन्‍छ र त्‍यो दोषी ठहराइनेछैन, तर त्‍यो मृत्‍युबाट जीवनमा सरेको छ ।
25 साँचो, साँचो म तिमीहरूलाई भन्‍छु, समय आइरहेको छ र यो अहिले नै हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र ती सुन्‍नेहरू बाँच्‍नेछन् ।
26 किनकि जसरी पिता आफैसँग जीवन छ, त्‍यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि ऊ आफैसँग जीवन होस्,
27 र पिताले पुत्रलाई न्‍याय गर्ने अधिकार दिनुभएको छ । किनकि ऊ मानिसका पुत्र हो ।
28 यस कुरामा तिमीहरू अचम्म नमान, किनकि चिहानमा हुनेहरूले उसको सोर सुन्‍ने समय आइरहेको छ,
29 र तिनीहरू चिहानबाट बाहिर आउनेछन्ः असल गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र दुष्‍ट काम गर्नेहरू न्‍यायको पुनरुत्थानको निम्ति ।
30 म आफैले केही गर्न सक्दिनँ । म जस्‍तो सुन्‍छु त्‍यस्तै न्‍याय गर्छु र मेरो न्‍याय धार्मिक हुन्‍छ, किनकि मैले आफ्नो इच्‍छा खोजिरहेको छैनँ, तर मलाई पठाउनुहुनेको इच्‍छा खोजिरहेको छु ।
31 यदि म आफैले आफ्नै बारेमा गवाही दिने हो भने मेरो गवाही सत्‍य हुँदैनथ्यो ।
32 मेरो बारेमा गवाही दिनुहुने अर्को एक जना हुनुहुन्‍छ, र म जान्‍दछु, कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्‍य हुन्‍छ ।
33 तिमीहरूले यूहन्‍नाकहाँ पठाएका छौ र उनले सत्‍य गवाही दिएका छन् ।
34 तर मैले प्राप्‍त गर्ने त्‍यो गवाही मानिसबाट आएको होइन । तिमीहरूलाई बचाइयोस् भनी म यी कुराहरू भन्‍छु ।
35 यूहन्‍ना बोलिरहेका र चम्किरहेका बत्ती थिए र तिमीहरू उनको ज्‍योतिमा केही क्षणका लागि आनन्‍द मनाउन तत्पर थियौ ।
36 तैपनि मसँग भएको गवाही त्‍यो भन्‍दा पनि महान् छ, किनकि पिताले मलाई पूरा गर्न दिनुभएका कामहरू र मैले गर्ने कामहरूले नै मलाई पिताले पठाउनुभएको हो भन्‍ने गवाही दिन्‍छन् ।
37 मलाई पठाउनुहुने पिता आफैले मेरो विषयमा गवाही दिनुभएको छ । तिमीहरूले न उहाँको सोर सुनेका छौ न उहाँको रूप नै कहिल्यै देखेका छौ ।
38 तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गरिरहेका छैनौ ।
39 तिमीहरू धर्मशास्‍त्रमा खोज्दछौ, किनकि तिनमा तिमीहरूको निम्ति अनन्‍त जीवन छ भन्‍ने सोच्दछौ र यी नै धर्मशास्‍त्रहरूले मेरो विषयमा गवाही दिन्‍छन्,
40 र तिमीहरू जीवन पाउन मकहाँ आउन तत्पर छैनौ ।
41 म मनिसहरूबाट प्रशंसा प्राप्‍त गर्दिनँ,
42 तर म जान्‍दछु, तिमीहरू आफैमा परमेश्‍वरको प्रेम छैन ।
43 म मेरा पिताको नाउँमा आएको छु, र तिमीहरू मलाई स्‍वीकार गर्दैनौ । यदि आफ्नै नाउँमा अर्को कोही आउने हो भने तिमीहरूले त्‍यसलाई स्वीकार गर्छौ ।
44 एक अर्कोबाट प्रशंसा खोज्‍ने तर परमेश्‍वरबाट मात्र आउने प्रशंसा नखोज्‍नलाई तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ ?
45 पिताको सामु तिमीहरूलाई म आफैले दोष लगाउँछु भन्‍ने तिमीहरू नसोच । तिमीहरूले आशा राखेका मोशाले नै तिमीहरूलाई दोष लगाउँछन् ।
46 यदि तिमीहरूले मोशामा विश्‍वास गर्थ्यौ भने तिमीहरूले मलाई पनि विश्‍वास गर्ने थियौ, किनकि उनले मेरो विषयमा लेखे ।
47 यदि तिमीहरूले उनले लेखेका कुराहरूमा विश्‍वास गर्दैनौ भने तिमीहरूले मेरो वचनमा कसरी विश्‍वास गर्छौ र ?”