यूहन्‍ना 3:1-21
3
अब त्‍यहाँ निकोदेमस नाउँ गरेका एक जना यहूदी अगुवा थिए ।
2 यी मानिस राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्‍यू, हामी जान्‍दछौँ, कि तपाईं परमेश्‍वरबाट आउनुभएको एक जना शिक्षक हुनुहुन्‍छ, किनकि तपाईंले गर्नुभएका यी चिह्न‍हरू परमेश्‍वर त्‍यससँग नभईकन कसैले पनि गर्न सक्दैन ।”
3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्‍दछु, कोही फेरि नजन्‍मिएसम्म, त्‍यसले परमेश्‍वरको राज्‍य देख्‍न सक्दैन ।”
4 निकोदेमसले उहाँलाई भने “मानिस वृद्ध भएपछि कसरी जन्‍मन सक्छ ? ऊ फेरि दोस्रो पल्ट उसकी आमाको गर्भमा पस्‍न, र जन्‍मन सक्दैन, सक्छ त ?
5 येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्‍दछु, कोही पनि पानी र आत्माबाट नजन्‍मेसम्म ऊ परमेश्‍वरको राज्‍यमा पस्‍न सक्दैन ।
6 शरीरबाट जन्‍मेको शरीर हो, र पवित्र आत्माबाट जन्‍मेको आत्मा हो ।
7 मैले तिमीलाई, ‘तिमी फेरि जन्‍मनुपर्छ’ भनेकोमा अचम्म नमान ।
8 हावा जता चाहन्‍छ त्‍यतै बहन्‍छ; तिमीले यसको आवाज सुन्‍छौ; तर यो कहाँबाट आउँछ, र कतातिर गइरहेको छ तिमी जान्‍दैनौ । पवित्र आत्माबाट जन्‍मेका सबै त्‍यस्तै हुन्‍छन् ।”
9 निकोदेमसले जवाफ दिए, र उहाँलाई भने, “यी कुराहरू कसरी हुन सक्छन्” ?
10 येशूले तिनलाई जवाफ दिनुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ ?
11 साँचो, साँचो म तिमीलाई भन्‍दछु, कि हामी जे जान्‍दछौँ, त्‍यहीँ भन्‍छौँ, र हामीले जे देखेका छौँ, त्‍यसैको गवाही दिन्‍छौँ । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।
12 यदि मैले तिमीलाई पृथ्‍वीको कुरा भनें भने तिमीहरू विश्‍वास गर्दैनौ, यदि मैले स्वर्गका कुराहरू भनें भने तिमीले कसरी विश्‍वास गर्छौ ?
13 स्वर्गबाट ओर्लिआउनुभएका मानिसका पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन ।
14 जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्‍यसै गरी मानिसका पुत्र पनि उचालिनुपर्छ,
15 ताकि उहाँमा विश्‍वास गर्ने सबैले अनन्‍त जीवन पाऊन् ।
16 किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा ‍विश्‍वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्‍त जीवन पाओस् ।
17 किनकि परमेश्‍वरले यस संसारलाई दण्ड दिन होइन, तर संसारलाई बचाउन उहाँले आफ्नो पुत्र पठाउनुभयो ।
18 उहाँमा विश्‍वास गर्ने दण्डित हुँदैन, तर उहाँमा विश्‍वास नगर्ने अगि नै दण्डित भइसकेको हुन्छ, किनभने त्‍यसले परमेश्‍वरका एक मात्र पुत्रको नाउँमा विश्‍वास गरेको हुँदैन ।
19 न्‍यायको कारण यही होः ज्‍योति संसारमा आउनुभएको छ, र मानिसहरूले ज्‍योति भन्‍दा अन्धकारलाई नै रूचाए, किनभने तिनीहरूका कामहरू दुष्‍ट थिए ।
20 किनकि दुष्‍ट काम गर्ने हरेकले ज्‍योतिलाई घृणा गर्छ, र त्‍यो ज्‍योतितर्फ आउँदैन, ताकि त्‍यसका कार्यहरू प्रकट नहोऊन् ।
21 तापनि सत्‍य काम गर्ने ज्‍योतिमा आउँछ, ताकि परमेश्‍वरमा गरिएका त्‍यसका कामहरू प्रकट होऊन् ।
यूहन्‍ना 3:22-36
22 त्‍यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्‍यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्‍तिस्मा दिनुभयो ।
23 अहिले यूहन्‍नाले पनि सालीम नजिकैको एनोनमा बप्‍तिस्मा दिइरहेका थिए, किनभने त्‍यहाँ धेरै पानी थियो । मानिसहरू उनीकहाँ आइरहेका थिए, र तिनीहरूले बप्‍तिस्मा लिँदै थिए ।
24 किनकि यूहन्‍ना यस बेलासम्म झ्यालखानामा परेका थिएनन् ।
25 त्‍यहाँ यूहन्‍नाका केही चेलाहरू र एक जना यहूदी बिच विधिवत् शुद्धिकरणको विषयमा विवाद भयो ।
26 तिनीहरू यूहन्‍नाकहाँ गए, तिनलाई भने “गुरुज्‍यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्‍तिले बप्‍तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”
27 यूहन्‍नाले जवाफ दिए “मानिसलाई स्वर्गबाट नदिएसम्म त्‍यसले कुनै पनि कुरा प्राप्‍त गर्न सक्दैन ।
28 तिमीहरू आफै गवाही दिन सक्‍छौ, कि मैले भनें, ‘म ख्रीष्‍ट होइनँ,’ तर बरु ‘म उहाँ भन्‍दा अगि पठाइएको हुँ ।’
29 दुलहीचाहिँ दुलहाको नै हो । दुलहाको छेउमा खडा हुने र उहाँको आवाज सुन्‍ने साथी दुलहाको आवाज सुनेर धेरै आनन्‍दित हुन्‍छ । तब मेरो आनन्‍द पूरा हुनेछ ।
30 उहाँ बढ्नुपर्छ र म घट्नुपर्छ ।
31 माथिबाट आउनुहुने सबै भन्‍दा माथि हुनुहुन्‍छ । जो पृथ्‍वीबाटको हो त्‍यो पृथ्वीकै हो, र त्‍यसले पृथ्‍वीका कुराहरू बोल्दछ । जो स्वर्गबाट आउनुहुन्‍छ, उहाँ सबै भन्‍दा माथि हुनुहुन्‍छ ।
32 उहाँले जे देख्‍नु र सुन्‍नुभएको छ, त्‍यसको गवाही दिनुहुन्‍छ, तर उहाँको गवाही कसैले स्वीकार गर्दैन ।
33 उहाँको गवाही ग्रहण गर्नेले परमेश्‍वर सत्‍य हुनुहुन्‍छ भन्‍ने पुष्‍टि गरेको छ ।
34 किनकि परमेश्‍वरले जसलाई पठाउनुभएको छ, त्‍यसले उहाँको वचन बोल्छ । किनकि उहाँले पवित्र आत्मा नापतौल गरेर दिनुहुन्‍न ।
35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्‍छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ ।
36 पुत्रमा विश्‍वास गर्नेसँग अनन्‍त जीवन हुन्‍छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्‍नेछैन, तर त्‍यसमाथि परमेश्‍वरको क्रोध पर्नेछ ।”