मर्कूस 15:1-24
15
बिहान सबेरै मुख्य पूजाहारीहरूसँगै धर्म-गुरुहरू, शास्‍त्रीहरू र सम्पूर्ण यहूदी परिषद्‍सँगै भेला भए । अनि तिनीहरूले येशूलाई बाँधे र लिएर गए । तिनीहरूले उहाँलाई पिलातसकहाँ सुम्पिदिए ।
2 पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?” उहाँले जवाफ दिनुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ ।”
3 मुख्य पूजाहारीहरूले येशूको विरुद्धमा धेरै अभियोग पेस गरिरहेका थिए ।
4 पिलातसले फेरि पनि येशूलाई सोधे, “किन तिमी जवाफ दिँदैनौ ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै अभियोग ल्याइरहेका छन् ?”
5 तर येशूले पिलातसलाई कुनै जवाफ दिनुभएन, र जसले गर्दा तिनी छक्‍क परे ।
6 अब चाडको समयमा पिलातसले सामान्‍यतया तिनीहरूले अनुरोध गरेअनुसार एउटा कैदीलाई मुक्‍त गर्थे ।
7 विद्रोहमा विद्रोहीहरूसँगै सहभागी भएका हत्‍याराहरूमध्‍ये त्‍यहाँ झ्यालखानामा बारब्बा नाउँ गरेका एक जना मानिस कैदमा थिए ।
8 भीड पिलातसकहाँ आयो र तिनले विगतमा गरेझैँ तिनीहरूका निम्ति गर्नलाई अनुरोध गर्न थाले ।
9 पिलातसले तिनीहरूलाई जवाफ दिए र भने, “के तिमीहरू मैले यहूदीहरूका राजालाई मुक्‍त गरेको चाहन्‍छौ ?”
10 किनभने डाहको कारणले गर्दा नै मुख्य पूजाहारीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्‍ने तिनलाई थाहा थियो ।
11 तर मुख्य पूजाहारीहरूले भीडलाई बरु बारब्बालाई नै मुक्‍त गरिनुपर्छ भनी कराउन उक्साएका थिए ।
12 पिलातसले तिनीहरूलाई फेरि जवाफ दिए र भने, “त्‍यसो भए यहूदीहरूका राजालाई म के गरूँ त ?”
13 तिनीहरू फेरि चिच्‍च्‍याए, “त्‍यसलाई क्रुसमा टाँग्‍नुहोस् !”
14 पिलातसले तिनीहरूलाई भने, “त्‍यसले के गल्ती गरेको छ र ?” तर तिनीहरू झन् ठूलो स्वरमा चिच्‍च्‍याए, “त्‍यसलाई क्रुसमा टाँग्‍नुहोस् ।”
15 पिलातसले भीडलाई सन्‍तुष्‍ट पार्न चाहे । त्‍यसैले, तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए । तिनले येशूलाई कोर्रा लगाए र क्रुसमा टाँग्‍नको निम्ति सुम्पिदिए ।
16 सिपाहीहरूले उहाँलाई (ब्यारेकभित्रको) चोकमा लगे र तिनीहरूले सिपाहीहरूको सम्पूर्ण जत्थालाई सँगै बोलाए ।
17 तिनीहरूले येशूलाई बैजनी रङको पोशाक पहिराइदिए र तिनीहरूले काँडाको मुकुट बनाएर उहाँको टाउकोमा लगाइदिए ।
18 तिनीहरूले “हे यहूदीहरूका राजा” भनी उहाँलाई सलाम गर्न थाले ।
19 तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए र उहाँलाई थुके । तिनीहरूले सम्मानमा उहाँको सामु घुँडा टेके ।
20 जब तिनीहरूले उहाँको गिल्ला गरे, तिनीहरूले बैजनी रङको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए र उहाँलाई क्रुसमा टाँग्‍न लिएर गए ।
21 तिनीहरूले गाउँबाट आइरहेका (अलेक्जेन्डर र रुफसका बुबा) कुरेनीका सिमोन नाउँ गरेका एउटा बटुवालाई सेवा गर्न दबाब दिए; तिनीहरूले तिनलाई येशूको क्रुस बोक्‍न कर लगाए ।
22 सिपाहीहरूले येशूलाई गलगथा भनिने ठाउँमा ल्याए ( जसको अर्थ हुन्‍छः “खप्‍परको ठाउँ”) ।
23 तिनीहरूले उहाँलाई सिर्का मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले त्‍यो पिउनुभएन ।
24 तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्‍येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए ।
मर्कूस 15:25-47
25 तिनीहरूले उहाँलाई क्रुसमा टाँग्‍दा तेस्रो पहर भएको थियो ।
26 तिनीहरूले उहाँको विरुद्धमा यस्‍तो दोष-पत्र लेखे, “यहूदीहरूका राजा ।”
27 तिनीहरूले उहाँसँग दुई जना डाँकुलाई क्रुसमा टाँगेः एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि ।
28 [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा २८ पदलाई हटाइएको छ (लूका २२ः३ लाई हेर्नुहोस्) पद २८] अनि “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्‍ने धर्मशास्‍त्रको वचन पुरा भयो ।
29 त्‍यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै उहाँको अपमान गरे, “आहा ! तिमीले त मन्‍दिरलाई नष्‍ट गरेर तीन दिनभित्र नै निर्माण गर्थ्यौ त,
30 आफैँलाई बचाऊ र क्रुसबाट ओर्लेर आऊ !”
31 त्‍यसै गरी, मुख्य पूजाहारीहरूले शास्‍त्रीहरूसँग मिलेर एक-आपसमा यसो भन्‍दै उहाँको गिल्‍ला गरे, “त्‍यसले अरूहरूलाई त बचायो, तर आफैलाई बचाउन सक्दैन ।
32 इस्राएलका राजा ख्रीष्‍ट क्रुसबाट तल ओर्लेर आओस्, ताकि हामी देखेर विश्‍वास गर्न सकौँ ।” अनि उहाँसँगै क्रुसमा टाँगिएकाहरूले पनि उहाँको गिल्‍ला गरे ।
33 छैटौँ घडीदेखि नवौँ घडीसम्म सारा जगत्‌मा अन्धकार छायो ।
34 नवौँ घडीमा येशू ठूलो स्वरमा यसो भन्‍दै कराउनुभयो, “इलोई, इलोई, लामा सबख‍थनी ?” जसको अर्थ, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, मलाई किन त्‍याग्‍नुभएको ?” भन्‍ने हुन्‍छ ।
35 त्‍यहाँ उभिएकाहरूमध्‍ये केहीले यो सुनेर भने, “हेर, त्‍यसले एलियालाई बोलाउँदै छ ।”
36 कोही दौडेर गए एउटा स्पन्जमा सिर्का हाले, र यसलाई निगालोको लट्ठीमा राखे, अनि उहाँलाई दिए । त्‍यो मानिसले भने, “उसलाई तल झर्न एलिया आउँछन् कि हेरौँ है त ।”
37 तब येशू ठूलो सोरले कराउनुभयो र प्राण त्‍याग्‍नुभयो ।
38 मन्‍दिरको पर्दा माथिदेखि तलसम्म दुई भागमा च्यातियो।
39 जब त्‍यहाँ उभिएर येशू यसरी मर्नुभएको देख्‍ने कप्‍तानले यो देखे, तिनले भने, “साँच्‍चै, यी मानिस परमेश्‍वरका पुत्र नै थिए ।”
40 त्‍यहाँ टाढाबाटै हेर्ने स्‍त्रीहरू पनि थिए । तिनीहरूमध्‍ये मरियम मग्दलिनी, मरियम (सानो याकूब र योसेफकी आमा), र सलोमी थिए ।
41 उहाँ गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याए र उहाँको सेवा गरे । अरू धेरै स्‍त्री पनि उहाँसँग यरूशलेम आएका थिए ।
42 जब साँझ पर्‍यो, यो तयारी गर्ने दिन अर्थात् शबाथ-दिनको अगिल्लो दिन भएको हुनाले
43 अरिमाथियाका योसेफ त्‍यहाँ आए । तिनी परिषद्का आदरणीय व्‍यक्‍ति थिए, जसले परमेश्‍वरको राज्‍यको प्रतीक्षा गरिरहेका थिए । तिनी साहसका साथ पिलातसकहाँ गए, अनि येशूको लास मागे ।
44 येशू पहिले नै मरिसक्‍नुभएको थियो भनी सुन्‍दा पिलातस छक्‍क परे; तिनले कप्‍तानलाई बोलाए र येशू मर्नुभएको थियो वा थिएन भनी सोधे ।
45 जब तिनले येशू मरिसक्‍नुभएको कुरा कप्‍तानबाट थाहा पाए, तिनले येशूको शरीर योसेफलाई दिए ।
46 योसेफले मलमलको कपडा ल्याएका थिए । तिनले उहाँलाई क्रुसबाट तल झारे; उहाँलाई मलमलको कपडाले बेह्रे, अनि चट्टान खोपेर बनाइएको चिहानमा उहाँलाई राखे । तब तिनले चिहानको मुखमा एउटा ढुङ्‌गालाई गुडाएर छोपे ।
47 मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्‍ने देखेका थिए ।