12
त्‍यसपछि परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो । उनी तिनीकहाँ आए र तिनलाई भने, “कुनै सहरमा दुई जना मानिस बस्थे । एक जना धनी थिए र अर्कोचाहिँ गरीब थिए ।2 धनी मानिसको ठूलो सङ्‌ख्‍यामा भेडाबाख्रा र गाईवस्तु थिए,3 तर त्‍यो गरीब मानिससित भेडाको एउटा पाठीबाहेक केही पनि थिएन, जसलाई त्‍यसले किनेर ल्याएको, र खुवाएर हुर्काएको थियो । त्‍यो उससँग र उसका छोराछोरीहरूसँगै हुर्क्यो । त्‍यो पाठीले उससँगै खान्‍थ्यो, उसैको कचौराबाट पिउँथ्यो, र उसकै काखमा सुत्थ्यो र उसकी छोरी जस्‍तै थियो ।4 एक दिन त्‍यो धनी मानिसको घरमा एक जना पाहुना आए, तर तिनलाई खाना दिन त्‍यो धनी मानिसले आफ्नो भेडाबाख्रा र गाईवस्तुबाट एउटा पशु लिन पनि इच्‍छुक भएन । बरु, त्‍यसले त्‍यो गरीब मानिसको भेडाको पाठी लियो र त्‍यो आफ्‍नो पाहुनाको निम्ति पकाइदियो ।5 दाऊद त्‍यो धनी मानिसप्रति रीसले आगो भए र नातानसँग जङ्‌गिए, “ जस्‍तो परमप्रभु जीवित हुनुहुन्‍छ, त्‍यो मानिस जसले यसो गर्‍यो, त्‍यो मारिन योग्य छ ।6 त्‍यो पाठीको चार गुणा त्‍यसले फिर्ता गर्नुपर्छ किनभने त्‍यसले यस्तो दुष्‍ट कुरा गरेको छ र त्‍यसले गरीब मानिसमाथ कुनै दया देखाएन ।7 त्‍यसपछि नातानले दाऊदलाई भने, “त्‍यो मानिस तपाईं नै हो ! परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेँ र मैले तँलाई शाऊलको हातबाट बचाएँ ।8 मैले तँलाई तेरो मालिकको घराना र तेरो मालिकका पत्‍नीहरूलाई तेरो हातमा दिएँ । मैले तँलाई इस्राएल र यहूदाको घराना पनि दिएँ । तर त्‍यसले नपुगेको भए, म तँलाई यसको अतिरिक्त अरू धेरै कुराहरू दिने थिएँ ।9 त्‍यसैले तैँले परमप्रभुको दृष्‍टिमा जे खराब छ त्‍यही गरेर उहाँको आज्ञालाई किन तुच्‍छ ठानिस् ? तैँले हित्ती उरियाहलाई तरवारले प्रहार गरिस् र त्‍यसको पत्‍नीलाई तेरो आफ्‍नै पत्‍नी हुनलाई लगेको छस् । तैँले अम्‍मोनको फौजको तरवारले त्‍यसलाई मारिस् ।10 त्‍यसैले अब तरवारले तेरो घरानालाई कहिल्यै छोड्नेछैन, किनभने तैँले मलाई घृणा गरेको छस् र हित्ती उरियाहको पत्‍नीलाई तेरो आफ्‍नो पत्‍नीको रूपमा लिएको छस् ।’11 परमप्रभु भन्‍नुहुन्‍छ, ‘हेर्, म तेरो आफ्नै घरानाबाट विपद् ल्याउनेछु । तेरो आफ्‍नै आँखाको सामु तेरा पत्‍नीहरूलाई म लिनेछु र ती तेरो छिमेकीलाई दिनेछु, र दिनको उज्‍यालोमा त्‍यो तेरा पत्‍नीहरूसित सुत्‍नेछ ।12 किनकि तैँले आफ्‍नो पाप गोप्य रूपमा गरिस्, तर म यो सारा इस्राएलको सामु घामको उज्‍यालोमा गर्नेछु’ ।13 तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरेको छु ।” नातानले दाऊदलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पापलाई हटाइदिनुभएको छ । तपाईंलाई मारिनेछैन ।14 तापनि, यो कामद्वारा तपाईंले परमप्रभुलाई तुच्‍छ तुल्‍याउनुभएको हुनाले, तपाईंबाट जन्‍म‍ने बालकचाहिँ निश्‍चय नै मर्नेछ ।15 त्‍यसपछि नातान बिदा भए र घर गए । उरियाहको पत्‍नीले दाऊदबाट जन्‍माएको बालकलाई परमप्रभुले प्रहार गर्नुभयो र त्‍यो गम्भीर बिरामी भयो ।16 दाऊदले त्‍यो केटाको निम्ति परमप्रभुसँग बिन्‍ती गरे । दाऊद उपवास बसे र भित्र गए र रातभरि भुईंमा पल्टिरहे ।17 तिनका घरानाका ठूलाहरू उठे र तिनलाई भुईंबाट उठाउन तिनको छेउमा खडा भए, तर तिनी उठेनन् र तिनले तिनीहरूसँग केही पनि खाएनन् ।18 सातौँ दिनमा त्‍यो बालक मर्‍यो । त्‍यो बालक मर्‍यो भनेर दाऊदका सेवकहरूले तिनलाई भन्‍न डराए, किनकि तिनीहरूले भने, “हेर्नुहोस्, त्‍यो बालक जीवितै हुँदा हामीले उहँसित बोल्‍यौँ र उहाँले हाम्रा कुरा सुन्‍नुभएन । हामीले त्‍यो बालक मर्‍यो भन्‍यौँ भने, उहाँले आफूलाई के गर्नुहोला ?19 तर जब दाऊदले आफ्‍ना सेवकहरूले आपसमा कानेखुसी गरिरहेको देखे, तब बालक मरेछ भनी दाऊदले थाहा पाए । तिनले आफ्ना सेवकहरूलाई भने, “के त्‍यो बालक मर्‍यो ?” तिनीहरूले जवाफ दिए, “त्‍यो मर्‍यो ।20 तब दाऊद भुईंबाट उठे र आफू नुहाए, आफूलाई तेल घसे र आफ्‍ना लुगा फेरे । तिनी परमप्रभुको पवित्र वासस्थानमा गए र त्‍यहाँ आराधना गरे र त्‍यसपछि आफ्‍नो दरबारमा फर्केर आए । तिनले खाने कुराहरू मागेपछि, तिनीहरूले खाने कुरा दिए र तिनले खाए ।21 तब तिनका सेवकहरूले तिनलाई भने, “तपाईंले किन यसो गर्नुभएको छ ? त्‍यो बालक जिउँदो हुँदा तपाईं उपवास बस्‍नुभयो र रुनुभयो, तर जब बालक मर्‍यो, तब तपाईं उठ्नुभयो र खानुभयो ।22 दाऊदले जवाफ दिए, “बालक जीवित हुँदा म उपवास बसेँ र रोएँ । मैले भनेँ, ‘कसले जान्‍दछ कतै परमप्रभु अनुग्रही हुनुहुनेछ ताकि बालक बाँच्‍न सकोस् ?’23 तर अब त्‍यो मर्‍यो, त्‍यसैले म किन उपवास बस्‍ने ? के म त्‍यसलाई फेरि फर्काएर ल्याउन सक्छु र ? म त्‍यसकहाँ जानेछु, तर त्‍यो मकहाँ फर्केर आउनेछैन ।24 दाऊदले आफ्‍नी पत्‍नी बतशेबालाई सान्‍त्वना दिए र उनीकहाँ गए र उनीसँग सुते । पछि उनले एउटा छोरा जन्‍माइन् र त्‍यो बालकको नाउँ सोलोमन राखियो । परमप्रभुले त्‍यसलाई प्रेम गर्नुभयो25 र तिनको नाउँ यददीयाह राख्‍नू भनी उहाँले नातान अगमवक्ताद्वारा सन्‍देश पठाउनुभयो, किनभने परमप्रभुले तिनलाई प्रेम गर्नुभयो ।26 यति बेला योआबले अम्मोनीहरूको रब्बाको विरुद्ध युद्ध गरे र तिनले राजकीय सहर कब्जा गरे ।27 त्‍यसैले योआबले दाऊदकहाँ दूतहरू पठाए र भने, “मैले रब्‍बाको विरुद्धमा युद्ध लडेको छु र मैले सहरको पानीको आपूर्तिलाई कब्जा गरेको छु ।28 यसकारण बाँकी फौजलाई भेला गर्नुहोस् र यो सहर विरुद्ध छाउनी हाल्नुहोस् र यसलाई कब्जा गर्नुहोस्, किनकि मैले त्‍यो सहर लिएँ भने, त्‍यसलाई मेरो नाउँ दिइनेछ ।29 त्‍यसैले दाऊदले सबै फौजलाई एकसाथ भेला गरे र रब्बातिर गए । तिनले त्‍यो सहरको विरुद्ध युद्ध लडे र त्‍यो कब्जा गरे ।30 दाऊदले तिनीहरूका राजाको शिरबाट शिरपेच लिए, त्‍यसको तौल एक तोडा सुन थियो, र त्‍यसमा बहुमूल्‍य पत्‍थरहरू थिए । त्‍यो शिरपेच दाऊदको आफ्नै शिरमा लगाइयो । त्‍यसपछि तिनले त्‍यस सहरको लूटका मालहरू ठूलो मात्रामा लिएर आए ।31 तिनले त्‍यस सहरमा भएका मानिसहरूलाई लिएर आए, र तिनीहरूलाई आराहरू, फलामको हतियारको र बन्चरोको कामहरू गर्न बाध्‍य पारे । तिनले उनीहरूलाई इँटको भट्टीहरूमा काम गर्न लगाए । दाऊदले अम्‍मोनका मानिसहरूका सबै सहरलाई यो श्रमको काम गर्न लगाए । तब दाऊद र सबै फौज यरूशलेममा फर्के ।