10
पछि यस्तो भयो, अम्मोनका मानिसहरूका राजाको मृत्यु भयो, र पछि तिनका छोरा हानून तिनको सट्टामा राजा भए ।2 दाऊदले भने, “तिनका बुबा नाहाशले मलाई दया देखाएझैँ, म नाहाशका छोरा हानूनलाई दया देखाउनेछु ।” त्यसैले दाऊदले तिनका बुबाको सम्बन्धमा हानूनलाई सान्त्वना दिन आफ्ना सेवकहरूलाई पठाए । तिनका सेवकहरू अम्मोनको मानिसहरूको देशमा पसे ।3 तर अम्मोनका मानिसहरूका अगुवाहरूले आफ्ना मालिक हानूनलाई भने, “के साँच्चै दाऊदले तपाईंलाई सान्त्वना दिन मानिसहरू पठाएर तपाईंको बुबालाई आदर गर्दै छन् भनी तपाईं साँच्चै विचार गर्नुहुन्छ ? के दाऊदले यो सहरलाई नाश गर्न यसको जासूसी गर्न र यसलाई हेर्न तिनका सेवकहरूलाई पठाएका होइनन् र ?4 त्यसैले हानूनले दाऊदका सेवकहरूलाई समाते, तिनीहरूका दाह्री आधा खौरे, तिनीहरूको जाँघसम्म तिनीहरूको पोशाक काटिदिए र तिनीहरूलाई पठाए ।5 जब तिनीहरूले यो कुरा दाऊदलाई बताए, तब तिनले तिनीहरूलाई भेट्न मानिसहरूलाई पठाए, किनकि यी मानिसहरू साह्रै लज्जित भएका थिए । राजाले भने, “तिमीहरूको दाह्री फेरि नबढेसम्म यरीहोमा नै बस र त्यसपछि फर्क ।6 जब अम्मोनका मानिसहरूले उनीहरू दाऊदको निम्ति दुर्गन्धित भएका थिए भन्ने थाहा पाए, अम्मोनका मानिसहरूले दूतहरू पठाए र बेथ-रहोब र सोबाका बीस हजार अरामी पैदल सिपाही, दश हजार सिपाहीसहित माकाका राजा र बाह्र हजार पुरुषसहित तोबका मानिसहरूलाई भाडामा लिए ।7 जब दाऊदले यस बारेमा सुने, तब तिनले योआब र सिपाहीहरूका सबै फौजलाई पठाए ।8 अम्मोनीहरू बाहिर निस्के र आफ्नो सहरको ढोकामा युद्धको मोर्चा बाँधे, जबकि सोबा र रहोबका अरामीहरू, अनि तोब र माकाका मानिसहरू भने तिनीहरूसँगै खुल्ला मैदानमा तैनाथ भए ।9 जब योआबले अगाडी र पछाडि दुवैतिरबाट युद्धको मोर्चाले आफूतिर सामना गरेको देखे, तिनले इस्राएलका केही उत्कृष्ट योद्धाहरूलाई छाने र तिनीहरूलाई अरामीहरूको विरुद्ध परिचालन गरे ।10 तिनका बाँकी मानिसहरूलाई तिनले आफ्नो भाइ अबीशैको अधीनमा दिए र तिनले उनीहरूलाई बाहिर अम्मोनको फौज विरुद्ध लड्नलाई पठाए ।11 योआबले भने, “अरामीहरू मेरो निम्ति साह्रै बलिया भए भने तिमी अबीशैले मेरो उद्धार गर्नुपर्छ । तर अम्मोनका फौज तिम्रो निम्ति निकै बलिया भए भने, म आउनेछु र तिम्रो उद्धार गर्नेछु ।12 बलियो होओ, र हाम्रा मानिसहरू र हाम्रा परमेश्वरका सहरहरूका निम्ति हामी आफूलाई बलियो प्रकट गरौँ, किनकि परमप्रभुले आफ्ना मानिसका निम्ति जे असल हुन्छ सो गर्नुहुनेछ ।13 त्यसैले योआब र तिनका फौजका सिपाहीहरू अरामीहरूका विरुद्धमा युद्ध लड्न अगि बढे, जो इस्राएलका फौजका सामु भाग्न बाध्य भए ।14 जब अम्मोनको फौजले अरामीहरू भागेका देखे, तब तिनीहरू पनि अबीशैबाट भागे र सहरमा फर्केर गए । तब योआब अम्मोनका मानिसहरूबाट फर्के र यरूशलेममा आए ।15 जब अरामीहरूले आफूहरू इस्राएलद्वारा पराजित भएको देखे, तब उनीहरूले फेरि आफूलाई एकसाथ भेला पारे ।16 त्यसपछि हददेजेरले यूफ्रेटिस नदी पारिका अरामी सेनाहरूलाई पनि लिन पठाए । उनीहरू हेलाममा आए र हददेजरका फौजका कमाण्डर शोबाक तिनीहरूको अगिअगि गए ।17 जब दाऊदलाई यो कुरा भनियो, तब तिनले सबै इस्राएललाई एकसाथ भेला गरे, यर्दन तरे र हेलाममा आइपुगे । तब आरामीहरूले आफूलाई दाऊदको विरुद्धमा युद्ध मोर्चामा खडा गराए र तिनीसित युद्ध लडे ।18 अरामीहरू इस्राएलको सामुबाट भागे र दाऊदले उनीहरूका रथका सात सय मानिस र चालीस हजार घोडचढीहरूलाई मारे । उनीहरूका फौजका कमाण्डर शोबाक घाइते भए र त्यहीँ मरे ।19 जब हददेजेरका अधीनमा भएका सबै राजाहरूले आफू इस्राएलद्वारा परास्त भएको देखे, तब उनीहरूले इस्राएलसँग शान्ति सम्झौता गरे र तिनीहरूका अधीनमा भए । यसरी अरामीहरू अम्मोनका मानिसहरूलाई फेरि सहायता गर्न डराए ।