8
यसपछि यस्तो भयो, दाऊदले पलिश्‍तीहरूलाई आक्रमण गरे र तिनीहरूलाई परास्‍त गरे । त्‍यसैले दाऊदले मेथेग आमाहलाई पलिश्‍तीहरूको अधीनबाट लिए ।2 त्‍यसपछि तिनले मोआबलाई परास्‍त गरे र तिनीहरूका मानिसहरूलाई मैदानमा सुताएर एउटा डोरीले नापे । तिनले दुई नापभित्र पर्नेहरूलाई मारे र अर्को एक नापमा पर्नेहरूलाई जीवित राखे । त्‍यसैले मआबीहरू दाऊदका नोकरहरू भए र तिनलाई कर तिर्न थाले ।3 त्‍यसपछि सोबाका राजा रहोबका छोरा हददेजेरले यूफ्रेटिस नदीनेर आफ्नो शासन पुनर्स्थापना गर्नलाई यात्रा गरिरहँदा दाऊदले तिनलाई परास्‍त गरे ।4 दाऊदले तिनीबाट १,७०० रथहरू र बीस हजार पैदल सिपाही कब्जा गरे । दाऊदले सबै रथ तान्‍ने घोडाहरूको ढोडनसा काटिदिए, तर आफूलाई एक सय रथहरू मात्र राखे ।5 जब दमसकसका अरामीहरू सोबाका राजा हददेजेरलाई सहायता गर्न आए, तब दाऊदले बाइस हजार अरामी पुरुषलाई मारे ।6 तब दाऊदले दमसकसको अराममा छाउनी राखे र अरामीहरू तिनका नोकरहरू भए र तिनलाई कर ल्याए । दाऊद जहाँ-जहाँ गए, त्‍यहाँ-त्‍यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो ।7 दाऊद हददेजेरका सेवकहरूसँग भएका सुनका ढालहरू लिए र ती यरूशलेममा ल्याए ।8 हददेजेरका सहरहरू तेबह र बेरोतैबाट दाऊदले धेरै काँसा ल्याए ।9 दाऊदले हददेजेरका फौजलाई परास्‍त गरेका थिए भनी जब हमातका राजा तोऊ सुने,10 तब तोऊले दाऊदलाई अभिवादन गर्न र आशिष् दिन आफ्‍नो छोरा योरामलाई पठाए, किनभने दाऊदले हददेजेरसँग युद्ध गरेका र तिनलाई पराजित गरेका थिए, किनभने हददेजेरले तोऊ विरुद्ध युद्ध गरेका थिए । योरामले आफ्‍नो साथमा सुन, चाँदी र काँसाका सामानहरू ल्याए ।11 राजा दाऊदले यी सामानहरू साथै तिनले कब्जा गरेका सबै जातिबाट लिएका चाँदी र सुनलाई परमप्रभुको निम्ति अलग गरे,12 ती अराम, मोआब, अम्‍मोनका मानिसहरू, पलिश्‍तीहरू, र अमालेक साथै सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका सामानहरू पनि ।13 दाऊदले नूनको बेँसीमा अठार हजार अरामीहरूलाई जितेर फर्कंदा तिनको नाउँ चर्चित भएको थियो ।14 तिनले एदोमका सबै ठाउँमा छाउनी तैनाथ गरे र सबै एदोमी तिनका सेवकहरू भए । दाऊद जहाँ-जहाँ गए त्‍यहाँ-त्‍यहाँ नै परमप्रभुले विजय दिनुभयो ।15 दाऊदले सारा इस्राएलभरि शासन गरे र तिनले आफ्‍ना सबै मानिसलाई न्‍याय र धार्मिकता प्रदान गरे ।16 सरूयाहका छोरा योआब सेनाका कमाण्‍डर थिए र अहीलूदका छोरा यहोशापात लेखापाल थिए ।17 अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पूजाहारीहरू थिए र सरायाह शास्‍त्री थिए ।18 यहोयादाका छोरा बनायाह करेती र पलेथीहरूका प्रमुख थिए र दाऊदका छोराहरू राजाका मुख्य अधिकृतहरू थिए ।